बदलिएको छ
यो धर्तीको अनुहार कयौंचोटि !
………………………….
वायुमण्डल बदलियो
सागरहरू बदलिए
हिमालहरू बदलिए
मान्छेहरू बदलिए
पशु-पंक्षीहरू बदलिए
पहाड र वनस्पतिहरू बदलिए !
…………………………………..
तर बदलिएनन्
दुईटा कुरा : ‘मजदुर’ र ‘मालिक’ !
………………….
मालिकहरू
कुरूक्षेत्र भिडाउँछन्
विश्वयुद्ध लडाउँछन्
धर्तीको दोहन गराउँछन्
र बिफर, प्लेग र कोरोना फैलाउँछन् !
……………………………………
मजदुरहरू
कथित अस्त्रको वेग छेकिदिन्छन्
लिटल व्वाइको गर्जन रोकिदिन्छन्
श्रमको मूल्य लुटाउँछन्
र जुनीभर ईश्वरसँग गुनासो गरिरहन्छन् !
…………………………………
ठिक यो बेला,
मजदुरहरू
भोकै सडकमा हिँडिरहेछन्
र अघाएका मालिकहरू
कुसुम कुटीमा बसेर
मजदुरकै कविता लेखिरहेछन् !
……………………………..
बस् !
मालिकहरू
ईश्वर बनाउँछन्
र वस्तुको उपभोग गर्छन्
मजदुरहरू
वस्तु बनाउँछन्
र ईश्वरको भ्रम उपभोग गर्छन् !
…………………….
हजारौं वर्षदेखि
यसरी नै लुटिइरहेको छ – पसिनाको रङ !