निधारमा रातो अक्षता टाँसेर
आँखामा आँसु टिलपिल पार्दै
भक्कानिएको मुटुमा दायाँ हात राखेर
प्रदेश हिंड्न भनि जब
घरको संघार नाघेथ्यो कालिपारेले
हो त्यही दिन
माया मारेथ्यो देशले उसलाई
हो उसैदिन
उसको देश हराएको थियोे।
महिनौ राजधानी धाएर
हजारौं पैसा बगाएर
तेस्रोमुलुक उड्ने पासपोर्ट हात पार्दै
भिसा बोकेर प्लेन चढेथ्यो भद्रे
हो त्यही दिन
माया मारेथ्यो देशले उसलाई
हो उसैदिन
उसको देश हराएको थियो।
खेतको खलोले खान नपुगेर
मटुलीको मजेत्रो फाटेपछी
फकुली र फत्तेको निन्याउरो अनुहारले
मन ब्याकुल बनेपछि
कलुवाले जब गाउँ छोडेथ्यो
हो त्यही दिन
माया मारेथ्यो देशले उसलाई
हो उसैदिन
उसको देश हराएको थियो।
भन्न त तिनीहरु नेपाली नै भन्छन्
हुन त तिनिहरु नेपाली नै हुन्
नागरिकताले भन्छ तिमेरु नेपाली नै हो
जन्मदर्ताले पनि नेपाली जात थर जनाउछ
स्कुलको पुरानो हाजिरी रजिस्टरले
हो यहि गाउँका हौ भनेर किटानी गर्छ
पाखा पखेरा पौवा पँधेराले पनि
तिमिहरु हाम्रै गाउँले हो भन्छ
कालिपारे भद्रे र कलुवाले जब
गाउँपरको कान्लो नाघेर अलि पर सरेथे
हो त्यही दिन
देशले माया मारेथ्यो तिनिहरुलाइ
हो उसैदिन
तिनीहरुको देश हराएको थियो।
उहिले पढाउने मास्टरले चिनेका छन्
तिरो बुझ्ने तालुकदारले पनि
फलानो घरधुरीको भनेर जाहेरी दिन्छ
बाटोखर्च दिएर पठाएको साहुले
यो मेरै असामी भनेर साउँब्याज मागिरहन्छ
राज्यले रेमिटेन्स बुझ्दासम्म राम्ररी चिनेको छ
जब देशबाहिर तिनीहरु अप्ठ्यारोमा परेथे
हो त्यही दिन
देशले माया मारेथ्यो तिनीहरुलाई
हो उसैदिन
तिनीहरुको देश हराएको थियो।