मुक्तक – १
इन्द्रेणीको सप्त-रङमा रातो कहाँ गयो
डर पस्यो ढुकढुकीमा तातो कहाँ गयो
एकचोटि कोभिडले जसै धक्का मार्यो
मन्दिरभित्रै पुजारीको सातो कहाँ गयो ?
मुक्तक – २
नामेट भयो हिसाब सबै जब जीरो छिर्यो
सुनशान भयो शहर पनि जब नीरो छिर्यो
श्रमिकलाई दास ठान्ने आफू साँढे भाथ्यौ
भ्रमको खेती भाँड गयो जब कीरो छिर्यो !
मुक्तक – ३
ॐ माने पेमे गुम्बा पनि सुक्ति विहीन भयो
आले लुइया फूर्ती पनि जुक्ति विहीन भयो
जब छिर्यो कोरोना कहर भक्तजनको देश
८गायत्रीको मन्तर पनि मुक्ति विहीन भयो !
मुक्तक – ४
साझा थियो हावापानी शेष कसले बनायो
छाती थियो प्रकृतिको चेस कसले बनायो
जाल कति थाप्दछौ अझै भन शासकहरू
हाम्रा लागि धर्ती थियो देश कसले बनायो ?
मुक्तक – ५
वासनाभित्र रतिरागको गर्म पनि भाइरस हो
श्रमिकलाई लुटी खाने कर्म पनि भाइरस हो
ज्ञानको दियो जलाई हेर संसार अर्कै देख्छौ
कोरोनामात्र होइन केरे धर्म पनि भाइरस हो !
मुक्तक – ६
न मस्जिद न चर्च आयो न त कुनै धाम आयो
न अल्लाह न येशु आयो न त कुनै राम आयो
परमात्माको कुथुरा भनी दुनियाँ भ्रमित पार्यौ
शेषान्तरमा जीवनलाई विज्ञानकै काम आयो !
मुक्तक – ७
पाप पुण्य श्रमिक ठग्ने जटायुको कडी न हो
ईश्वर भन्नु पाखण्डीको लुटी खाने छडी न हो
विचार नै हो ज्ञान दियालो भ्रमित किन बन्छौ
जीवन जिउने सहारा त विज्ञानको घडी न हो !
मुक्तक – ८
छलछामको पुलिन्दा र’छ कुरान सावित भयो
परमेश्वरको बचन बाइबल घुरान सावित भयो
यो धर्तीभरि जसै खोल्यो ज्ञान-चक्षु कोरोनाले
पाखण्ड र’छ पाखण्डीको पुरान सावित भयो !
मुक्तक – ९
विज्ञान हो ज्ञानको ज्योति कर्म भन्नु श्रम रहिछ
जन्म-मृत्यु, बालक, युवा जीवनको क्रम रहिछ
चैतन्यको दियालो बाली दासबाट मालिक बनौं
अल्लाह, ईश्वर, प्रभू, ताऒ सबैसबै भ्रम रहिछ !
मुक्तक – १०
जलसँग जल-चर छन् जलेश्वर त अज्ञानता हो
थलमाथि थल-चर छन् महेश्वर त अज्ञानता हो
अन्धविश्वास त्यागी अब तथ्य प्रमाण सही गर
मानिसभित्र चैतन्य छ परमेश्वर त अज्ञानता हो !