काठमाडौँ, ३० चैत । मुलुकले समृद्धि र विकासका क्षेत्रमा आधार तयसहित प्रगति आरम्भ गरिरहेका बेला विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रासको असरले वर्ष २०७६ को बिदाइ निराशाजनक भएको छ ।
गत मङ्सिरमा नेपालमा भएको १४ औँ दक्षिण एशियाली खेलकूद (साग) ले खेलकुदमा नेपालको अन्तर्राष्ट्रिय छविलाई माथि उठाएको थियो ।
अर्थतन्त्रमा कोराना असर
आर्थिक समृद्धि, दिगो विकास र सुशासनलाई प्राथमिकताका राखेको वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले वर्ष २०७५ लाई समृद्धिको आधार र वर्ष २०७६ पछि विकासमा उपलब्धि आरम्भको वर्षका रूपमा व्याख्या गरेको थियो । चालू आर्थिक वर्षको पछिल्लो आर्थिक परिसूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयका विवरणहरूले जनाइरहेकाले पनि सरकारका भनाइ पत्याउन आधार मिलेको छ ।
आर्थिक वर्षको पहिलो तीन महिनाकै अवधिमा गत आर्थिक वर्षको तुलनामा वस्तु आयात १० दशमलव तीन प्रतिशतले घटेको र निर्यात १४ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । यसले मुलुकको व्यापार घाटामा सुधार ल्याएको छ भने शोधनान्तर स्थितिमा अनुकूल हुँदै जाने अपेक्षा अर्थ मन्त्रालयले गरेको थियो । वित्तीय पहुँचमा सुधार भई ७५३ मध्ये ७४१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेका छन् ।
अर्थ मन्त्रालयका अनुसार करको दायार विस्तार भएको छ भने वैदेशिक सम्बन्ध र सहयोगमा अभिवृद्धि भएको छ तर वर्षको अन्त्यतिर प्रवेश गरेको कोरोना भाइरस रोक्न अन्य मुलुकमा झैँ नेपालमा पनि लकडाउन जारी गरेका कारण आर्थिक र सामाजिक क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ । कोराना भाइरसकै जोखिमका कारण उच्च तयारीबीच घोषण गरिएको नेपाल भ्रमण वर्ष भने आरम्भका केही महिनापछि स्थगन भएको छ । यसले नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ ।
छिमेक सम्बन्ध अभिवृद्धि
नेपालमा पछिल्ला समयमा छिमेकी चीन र भारतसँको आपसी तथा परस्पर सम्बन्धमा विस्तार हुँदै आएको छ ।
तेईस वर्षको अन्तरालपछि चीनका राष्ट्रपति सी चिनफिङले गत असोेज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेर दुई देशको सम्बन्धमा नयाँ आयाम थप्नुभएको छ । चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा गरिएका व्यापार पारवहन सम्झौताको कार्यान्वयन र अन्य सहकार्यकाका साथै नयाँ नाकाहरू खोल्ने विषयमा ऐतिहासिक समझदारी भएका छन् । दुई मुलुकबीचको आपसी विश्वास बढेको छ । चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’मा नेपालले सहमति जनाइसकेको छ ।
दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध र सहकार्यमा पनि विस्तार भएको छ । छिमेक सम्बन्धमा विस्तार नेपाल र भारतबीच गोरखपुरसम्मको अन्तरदेशीय प्रसारण लाइन विस्तारमा सहमति भएको छ भने भारतीय सहयोगमा मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माण भई सञ्चालन शुरु भएको छ । समय समयमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान र विषयगत संयुक्त बैठकहरू जारी रहेका छन् ।
अन्य राजनीतिक घटना
वर्ष २०७६ मा प्रतिनिधिसभाका सभामुखमा कृष्णबहादुर महराले राजीनामा दिनु परेका कारण नयाँ सभामुखमा अग्निप्रसाद सापकोटालाई पाएको छ । महराले संसद् सचिवालयका कर्मचारीलाई यौन दुव्र्यवहारको आरोप खेपेपछि उहाँले राजीनामा दिनुभयो र पछि उहाँलाई अदालतले सफाइ दियो । सरकारका कतिपय मन्त्रीहरूको हेरफेर नियमित काम भए पनि यसबीचको समीक्षासहित मन्त्रीहरूको हेरफेर गरिएको छ ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि सुरक्षित मुद्रण प्रेस खरीदमा सौदाबाजी गरेको भन्ने टेप प्रकरण सार्वजनिक गरेपछि उहाँले नैतिकताका आधारमा दिएको राजीनामा पनि यो वर्ष चर्चामा रह्यो । बाँस्कोटाले आफूलाई चरित्र हत्या गरिएको भनी अदालतमा दायर गरेको निवेदन विचाराधीन छ ।
मुलुकका विभिन्न तहका गरी ५२ स्थानमा गत मङ्सिर १४ गते उपनिर्वाचन सम्पन्न भएको छ भने राष्ट्रियसभामा रिक्त १८ पदमा निर्वाचन भएको छ र मनोनीत एक स्थानमा नियुक्त हुन रहेको छ । राजनीतिक दलहरूबीच आन्तरिक र बाह्यरूपमा विवादले यस वर्ष पनि निरन्तरता पायो । सरकार र प्रतिपक्षको बेमेलले संसद् बन्द हुने र खुल्ने क्रम जारी रह्यो ।
सत्तारूढ नेकपाभित्र पनि पार्टी एकताका बाँकी काम, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) र कार्यविभाजन आदि विषयमा विवाद भई नै रहे भने नेपाली काँग्रेसमा महाधिवेशनको मिति छिटो तोकिनुपर्ने विषयमा असन्तुष्ट समूहले निरन्तर आवाज उठाइरहे । विगतमा फुटेर तीनवटा बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने यही वर्ष एक भयो । उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पनि यही वर्ष एक भयो ।
नेपाल भ्रमण वर्षको घोषणा र स्थगन
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने योजना अगाडि सारेको थियो । बहुचर्चित र महत्वाकाङ्क्षी योजनाका रूपमा नेपाल भ्रमण वर्षको कार्यक्रम शुरु गरिएको भए पनि कोरोनाले त्यसलाई समाप्तै पारिदिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण शुरुमा अप्रिलसम्म स्थगित गरिएको भ्रमण वर्ष वैशाखदेखि पूर्णरूपमा स्थगित गरिएको छ । भ्रमण वर्ष २०२० स्थगितसँगै यसको प्रचारप्रसार र अन्य व्यवस्थापनका लागि स्थापना गरिएको सचिवालयसमेत विघटन हुने भएको छ ।
तीन देशसँग हवाई सम्झौता
यसै वर्ष नेपालले अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई) र भियतनामसँग हवाई सेवा सम्झौता ग¥यो । गत असोज दोस्रो साता अस्ट्रेलिया र युएईसँग सम्झौता भयो भने प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम र कम्बोडियाको भ्रमणका क्रममा भियतनामसँग हवाई सम्झौता भयो ।
यस्तै नेपाल र चीनबीच हवाई सम्झौता पुनरावलोकन भयो र नेपाली जहाज चीनका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भए । निजी क्षेत्रको हिमालयन एयरलाइन्ससमेत चीनमा उडानका भर्न सम्झौताले मार्ग प्रशस्त ग¥यो । नेपाल वायु सेवा निगमले खरीद गरेर ल्याएका दईवटा वाइड बडी जहाजले जापानमा उडान शुरु ग¥यो । अस्ट्रेलियासँग सम्झौतापछि नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी सातामा सात उडान गर्न पाउने र अस्ट्रेलियाका हवाई जहाजले काठमाडौँमा सात उडान गर्न पाउने सम्झौतामा समावेश गरिएको थियो ।
यसै वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मौरिसससँग सरकारीस्तरमा श्रम सम्झौता भयो । श्रम तथा रोजगारको क्षेत्रका तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले गरेको सार्थक प्रयासको वर्षभरि नै चर्चाको केन्द्रमा रह्यो ।
बिग मर्जरको शुरुआत
यस्तै सरकारको योजनाअनुसार नै यस वर्ष ‘बिग मर्जर’ को अभियान शुरु भयो । ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल एकापसमा गाभिएर ग्लोबल आइएमई बैंकका रूपमा एकीकृत कारोवार शुरु ग¥यो । गत मङ्सिर २० गतेदेखि एकीकृत कारोवार शुरु गरी बिग मर्जरको नाम लेखाउन उनीहरू सफल भए । मर्जरपछि सो बैंकको कूल चुक्ता पूँजी रु १९ अर्ब पुग्यो ।
यस्तै गत माघसम्म १८५ बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने प्रक्रियामा सहभागी भई १४० वित्तीय संस्थाको इजाजत खारेज भयो । यस्तै एनएमबी बैंक, प्राइम बैंकले पनि मर्जर र प्राप्तिको प्रक्रिया अगाडि बढाए । निजी क्षेत्रमा मात्रै नभई सरकारको योजनामा नै नेपाल खाद्य संस्थान र नेशनल टे«डिङ लिमिटेड एकअर्कामा गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका रूपमा कारोवार शुरु भयो ।
नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रियामा नै रहेका छन् ।