कथाको संसार

कथाको संसार

  • आइतवार, चैत्र ३०, २०७६
  • -प्रथा

  • 12K
    SHARES

वर्षौँवर्षदेखि,
खरूकीको छानो चुहिएर
भित्रभित्रै पोचिरहेछ – पालीघरजस्तै एउटा देश !
…………………..

घरभित्रै छ
आधा सल्किएको पुरानो चुलो
झरीले खाएर फुङ्ङ उडेको पेरूङ्गो
र माऊले छिद्रा पारेको झण्डाको एउटा टालो पनि !
सिकुवा छेवैमा बसेर
अविच्छेदित प्रवेगमा घुमिरहेछ
संवेदनाहीन पीडाको एउटा आदिम जाँतो !
यतिका दिनसम्म,
कति पिसिए होलान्
घुनजस्ता अबोध अक्षरहरू
पुतलीजस्ता रङ्गिन आवाजहरू
र प्रदिप्त घामजस्ता विचारका शिरहरू ?
…………………

अहँ ! कसैलाई थाहा छैन !
कसले बनायो होला
यो कालभैरबजस्तो अघोरी जाँतो ?
र कहाँ बसेका होलान्
जाँतोमा इन्धन भर्ने सत्ताका युधिष्ठिरहरू ?
…………………

जुन लयमा घुम्छ
सूर्यको वरिपरि यो बाटुलो पृथ्वी
उसै गरी घुमिरहेछ
समयको कुमाले चर्खा पनि निरन्तर !
सायद,
यही चर्खाको धारमा रेटिएर
काटिएका हुनुपर्दछ – स्वाभिमानी शिरहरू पनि !
डुम्रीफूलजस्ता कलिला छोरीहरू
सम्राटका खोपीमा छोडेर
भर्खरै फर्किएका निरीह वेदव्यासहरू
गंगाको किनारामा बसेर
यतिखेर,
लेखिरहेछन् – नैतिकताका वैदिक कथाहरू !
………………….

अक्षरका कोठी चलाएर
पुस्तौँ-पुस्तादेखि,
शब्दहरूको डरलाग्दो भ्रमजाल बुनिएको छ !
र त्यही जालमा झुण्डिएर
मान्छेका संवेदनाहरू आत्महत्या गरिरहेछन् !
यी आँखाहरू
फगत दृष्यका दर्शक हुन्
जसले घामछायाको यो संसारमात्र देख्छन् !
ए कोही त भनिदेऊ
किन होला
आज यति बिघ्न निष्प्राण छन्
यो सुन्दर धर्तीमा मान्छेका अरवौं ढुकढुकीहरू ?
…………………

यी कथाहरू पढेर
मान्छेले भेटाउनु पर्ने हो
आफूभित्रै दन्किरहेको भोकको ज्वाला !
मान्छेले देख्नु पर्ने हो
आफूभित्रै गहिरिँदै गएको पीडाको गहिराई !
मान्छेले महसूस गर्नु पर्ने हो
आफ्नै श्रममाथि बुर्कुसी मार्ने लुटेरा आँधी !
मान्छेले जान्नु पर्ने हो
आफूभित्रै सेलाउँदै गएको विचारको तापक्रम !
र मान्छेले थाहा पाउनु पर्ने हो
धर्मको कुण्डमा तैरिरहेका लाशहरूको गणित !
…………………

तर अहँ !
चेतनाका उद्दाम वेगहरू मेटाएर
युगौँ-युगदेखि मान्छेहरू
मुर्छामा बाँच्न अभ्यस्त भएका छन् !
यस्तो लाग्छ,
विचारको टुकी निभाएर
भरोसा गुमाएका भक्तजनहरू
आफ्नै जीवनको शौन्दर्य जलाइरहेछन् !
…………………

जुनदिन,
आँखाहरू दृष्टिकोण बन्नेछन्
र देख्नेछन् संसारभित्रको अर्को संसार
सायद,
त्यही दिन लेखिनेछ – मान्छेको सक्कली कथा !
जहाँ भेटिने छन्
तराजु बोक्ने शैतानजस्ता धर्मगुरुहरू
जहाँ देखिने छ
श्रमचोरहरूको भव्य जुलूसको झाँकी
जहाँ अनुभूत गरिनेछ
सत्ताले लठ्ठिएका शासकहरूको देशप्रेम
र जहाँ चिनिने छन्
शान्तिको गीत गाउने कुरूप हत्याराहरू !
………………..

बस् !
म लेख्न चाहन्छु
यो धर्तीको मेटाइएको अनुहार !
कथा त यस्तो होस्
जसका हरेक शब्दका तारहरूमा
झरनाको झङ्कारझैँ
जीवनका उदात्त गीतहरू गुञ्जिन सकून् !

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी