थाहा छ सबैलाई
गरिबीले देश बेहाल छ
समस्या विकराल छ
आर्थिक श्रोत कमजोर छ
आवश्यकता घनघोर छ
कठिन मोडमा सरकार छ
इच्छाशक्ति भएर पनि
समस्या सामु लाचार छ
तर
तिम्रो स्वाभिमान हिजो जस्तै जनप्रिय नै रहेको भए,
कुपात्रहरूसँगै तिमी इमानको सती नगएको भए,
गुटको झन्डा ओढेर तिमीले महलमा किन रमाउनु पर्थ्यो ?
देशको झन्डाले मुख छोपेर कसका लागि किन कमाउनु पर्थ्यो ?
चुनावताकाको जस्तै तिमी आज पर्यन्त रहिरहेको भए,
करोडौंको विश्वास जितेपछि विकासको लक्ष्यतिर गइरहेको भए,
बूढी आमाको आशीर्वादलाई पैसासँग किन साट्नु पर्थ्यो ?
सनातन आस्थाको बर्को ओढेर परायको जुठो किन चाट्नु पर्थ्यो ?
हुन सक्छ ,
तिम्रो मन हिमाल जत्तिकै पवित्र छ
देश र जनताको माया
मन – मुटुमा सर्वत्र छ
तर के गर्छौ ?
आस्थाको भगवान नै मरिसके पछि
विश्वासमा खडेरी नै परिसके पछि
तिमीले देखेको तोरीको फूल समेत
मानिसका लागिएको रातो हुन थाल्यो
तिमीले छोएको हिउँको डल्लो समेत
मानिसका लागि तातो हुन थाल्यो
अब ता झन्
तिम्रा घोषणाका पत्रपत्रहरू
मिति सकिएको पात्रो भएका छन्
किन बाँड्छौ अविश्वासका दोसल्लाहरू
पाउनेहरूका लागि कात्रो भएका छन् !