हामी त ढाकर बोकेर राम्ररी पढ्न नपाएको मान्छे । दुःख त गाट्ठे कति गरियो कति । खोटाङको सुन्तला लाहानमा झारियो, लाहानको नून खोटाङमा । नामै ढाक्रे । बोलाउदा पनि ढाक्रे दाई भन्थ्ये । म भने १४/१५ बर्षको हुदो हुँ तर ४०/५० बर्षकोले पनि ढाक्रे दाई भन्थ्ये । अरु त ठिकै छ संगै स्कुलमा पढेको साथीहरुले भेट्यो भने मैले के भन्ने होला त्यसको मात्र मलाई चिन्ता हुन्थ्यो गाट्ठे !
ऊनले एक्कासी मलाई सोधिन् –
‘ढाकर भन्या बोरा भन्दा ठूलो हुन्छ हैन । त्यसमा कसरी सुन्तला बोक्नु ? अनि धेरै दिन अनि उकालोओरालो । आम्मै नि !’
मान्छे छ तरुनी । प्रेम गर्नु खप्पिस् । डिग्री पढ्दै गरेकी । कुरा गर्छे यस्तो । रिस पो उठ्यो मलाई त । झन उसलाई आकर्षिण गरौं भनेर यस्तो कुरा गरेको त उल्टै हैरान बनाउँदो रहेछ ।
फेरी यसको जवाफ मैले दिनु परेन । फलाफल हाकिमले दियो । ढाकर भनेको डोको जस्तै हुन्छ । तर त्यसमा खकन लगाईन्छ । भारी बोकेर विसाउने ठाउँ नभए पनि टेकुवा लगाउने एउटा लौरो हुन्छ । त्यसलाई तोक्मा भनिन्छ । ढाक्रे भनेको त्यै ढाकर बोक्ने हामी जस्तै मान्छेलाई भनिन्छ । त्यो ढाकरमा पर्याप्त सामानहरु बोकिन्छ । बिहान बेलुकी दुवै समय खानलाई बोकिन्छ खाने कुरा अनि पाकाउने भाडाकुडा सवै बोकिएको हुन्छ । रात कटाउनलाई सुत्ने ओछ्यान पनि बोकेका हुन्छन् । त्यसैलाई ढाकर भनिन्छ । र त्यो बोक्ने मानिसलाई ढाक्रे भनिन्छ ।
उनीहरुले बोकेका हुन्छन् कोदोको पिठो । उमाल्छन् पानी । मस्काउछन् लसलसी ढिडो । दिनभरको थकाईले हैरान परेको ढाक्रेले खान्छन् दुई केजी भन्दा बढी । अनि गाट्ठे दिसा गर्छन् करिव एक अँगालो ।
‘छि… छि …. छि…. कस्तो घिन लाग्दो कुरा गर्नु भा नी सर ! अहिलेसम्म त पत्याएको थिए । अब त होइन जस्तो लाग्न थाल्यो मलाई !’ उनले भनेकी थिईन उनले यानेकी शहरीया प्रेमीले ।
‘हो नि किन हैन । सरले भन्नु‘भा सबै ठिक हो । ढाकर र ढाक्रेको जिन्दगी त भनि सक्नु छैन ।’ मैले भनेको थिएँ । अहिले पो हाम्रो गाउँसम्म सडक जोडिएको छ । अनि यातायातको साधनहरु गुड्ने गर्छ । बितेको दुई बर्षसम्म त्यस्तै हो पीडा हामी सबैको । केहि विकट गाउँहरुमा अझै पनि सुन्तला त यसैगरी बोक्ने गरेको छ ।
अब त तपाईसँगै जानू पर्ला पहाड ढाक्रे हेर्नलाई ।
उनको यो आशय त मेरो घरमा बेहुली भएर जाने रैछ । त्यो पनि टुरिस्ट शैलीमा । अनि केको ऊ सँगको प्रेम सम्बन्ध जीवन्त होला । मैले मनमनै सोचेँ । अफसोच ऊ मात्रै हैन यो देशको राजधानीको मान्छेहरु कसैले पनि ढाकर देखेको रहेन छ । कसैले सुनेको मात्रै रहेछ । कसैले त त्यसको नाम नै नसुनेको पाईयो ।
मेरो मनभरी धेरै कुरा खेल्न थालेको थियो । अहिलेसम्म हामी गाउँको मान्छे भन्दा शहरीयाहरुले धेरै बुझेका हुन्छन् भन्ठान्थ्ये । तर हैन रहेछ । अब त त्यस्तो पो लाग्न थाल्यो । हामी त गाउँ देखि शहरसम्मको रहन सहन सबै बुझी सकेका हुदाँ रहेछौ । केवल शहरले शहरकै मात्र कुरो बुझ्नो रहेछन् । अब त शहरको मान्छे भन्दा गाउँकै धेरै अनुभवी हुने मेरो मनले ठहर गरिसक्यो । त्यसैले बस् यतिमै जिन्दगीको यात्रामा शहरिया प्रेम टाढा हुँदै गयो । पूर्ण विराम लाग्यो ।
- प्रकाशित कृति भेटिएको डायरीबाट