काठमाडाैं, १ चैत ।
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।
फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। साथै अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

आजको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।
कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा कान्तिपुर एफएम र कान्तिपुर टिभीको स्टेसन म्यानेजर दिनेश डिसीले यस कार्यक्रमको आगामी ५ वर्षको लागी कन्ट्रयाक गरेको उद्घोष समेत गरेका छन् ।
पहिलो संस्करणको सफलतासंगै यस शोको आगामी ५ वर्षको कन्ट्रयाक कान्तिपूर टिभीले किनेको छ । पहिलो संस्करण कान्तिपुर टिभीमा टाईम किनेर प्रसारण गरिएको थियो भने अब कान्तिपुर टिभी कै संलग्नतामा आगामी ५ वर्षको कार्यक्रम प्रसारण हुने भएको छ ।
कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा मह जोडीले अहिलेको युवा पुस्तामा कमेडी प्रति मोह देख्दा गर्व लागेको बताएका छन् । सधै गित संगीतमा मात्र रियालिटी शोको चर्चा देखिने गरेको तर यस शोले कमेडीमा पनि दर्शकको मोह अत्याधिक छ भन्ने पुष्टि गरेको कुरा समेत मह जोडीले उल्लेख गरेका छन् ।