यो बिल्कुल बनेन समावेशी मन्त्री मण्डल ।
बनाउने नै हो भने
उसैलाई बनाउनुपर्छ युवा मन्त्री
जो फिस्स हाँस्दा नक्कली दाँत हाँसिरहेको होस्
बनाउने नै हो भने
उसैलाई बनाउनुपर्छ स्वास्थ्य मन्त्री
जो बोल्दा बोल्दै दोस्रो पटक हृदयघातको सिकार होस्
चन्दा हिनामिनाको आरोपमा समातिएका
अर्थ सङ्कलकहरूमध्येबाट
बनाइनुपर्छ अर्थमन्त्री
मन्त्री मण्डलले के के निर्णय गर्यो
चुक्ली लगाउन पुग्नेलाई नै
बनाइनुपर्छ सूचना मन्त्री
अहँ बन्न सकेन हामीले चाहे झैँ
बहुरङ्गी इन्द्रेणी
गाउँमा गोबर र हिले खेत देखेर पर पर हुनेलाई
बनाउनुपर्छ कृषिमन्त्री,
पढेकाले नपढेकाको दुख बुझ्न सक्दैनन्
नपढेकैबाटै बनाउनुपर्छ शिक्षामन्त्री
कूटनीति त चाणक्यले बुझे भै’गो
फुटनीतिले नै नेपाल चलेको छ
यो मण्डलको संरचना नै कस्तो कस्तो लागिसक्यो
टुक्र्याएर भाग लगाउनेबाट बनाइनुपर्छ सहकारी मन्त्री ।
सरकार त सरकार जस्तै हुनुपर्छ
जस्तो कि म छु माथिका सबै बुझेको
निःसन्देह मलाई नै बनाइनुपर्छ यो देशको प्रधानमन्त्री ।