काठमाडौँ, २४ फागुन । कोरोना भाइरसको सन्त्रास बढेकाले वाग्मती सफाइ महाअभियानमा भीड जम्मा नगरी साङ्केतिक रूपमा मात्र सफाइ गरिने भएको छ । वाग्मती सफाइ महाअभियानको ३५६औँ हप्तामा तीनवटै सुरक्षा निकायलाई सहभागी नगराइने भएको छ । कोरोना भाइरसको सन्त्रासका कारण नियमित केही अभियानकर्मी जम्मा भएर जनचेतनामूलक कार्यक्रम मात्र गरिने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।
अभियानकर्मी पनि नदीभित्र नछिर्ने कार्यक्रम छ । समयमै सजगता अपनाउन गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान साङ्केतिक रूपमा मात्र गर्न लागिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । माथिल्लो क्षेत्रको वाग्मती सफाइ अभियानको दुई हजार २१३ दिनमा धेरै काम भएकाले सन्त्रास रहेसम्मका लागि मानिस जम्मा नगर्ने गरी कार्यक्रम तय गरिएको हो ।
सफाइलाई नित्यकर्मका रूपमा अघि बढाउँदा समयसापेक्ष रूपमा नमूना परिवर्तन गर्दै आएको छ । फोहरबाट ७० प्रतिशत रोग उत्पन्न हुनसक्ने टोलटोलमा जानकारी गराई रोगको मुहान अन्त्य गर्न लागिएको हो ।
पछिल्लो समय विद्यालयका विद्यार्थीलाई समेत नदी सफाइमा परिचालन गरिएको थियो । कोरोनाको सन्त्रास रहेसम्म विद्यालयका विद्यार्थीलाई सफाइमा सरिक नगराइने भएको छ । बिहानको चिसोमा भाइरस ज्यादा सक्रिय हुने र फोहरमैलामा धेरै सक्रिय रहने भन्ने तथ्यहरू सार्वजनिक भइरहेकाले पनि सफाइमा भीड कम गर्न लागिएको हो ।
फागुन २४ गते शनिबार बिहान माथिल्लो क्षेत्रमा ३१७औँ हप्ताको वाग्मती सफाइ गोठाटारस्थित गाई–बाच्छा संरक्षण स्थलमुनिको नदी किनारमा केही अभियानकर्मी जम्मा भएर साङ्केतिक रूपमा गर्न लागिएको हो । यसैगरी उपत्यकामा सञ्चालित अन्य सफाइ अभियानमा पनि मानिसको भीडभाड कम गरी निरन्तरता मात्र दिइने जनाइएको छ ।