हेटौंडा, २३ फागुन ।
बागमति प्रदेशको राजधानी हेटौडामा सन्चालित पाँच दिने महिला पत्रकारहरुको प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको समन्वयमा तालिमको आयोजना गरिएको हो । तालिममा बिभिन्न छापा तथा विद्युतीय सन्चार माध्यममा कार्यरत प्रदेशका ४५ जना महिला पत्रकारको सहभागिता थियो । तालिमको समापन कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले महिला पत्रकारको क्षमता अभिवृद्धि तथा सुरक्षा लगायतका बिषयमा आगामि दिनमा पनि कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने तयारीमा मन्त्रालय रहेकोले सन्चार क्षेत्रलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सुझाव दिन पनि आग्रह गर्नुभयो ।
उहाँले लैंगिक समानता स्थापित गर्ने सवालमा प्रदेश सरकारले विशेष ध्यान दिने जनउँदै महिला पत्रकारहरुलाई मात्रै सहभागी गराएर तालिम सन्चालन गरिएको बताउनु भयो । उहाँले अधिकार प्राप्त गर्न आफैले पहल कदमी लिनुपर्ने पनि बताउनु भयो ।
महिला पत्रकारहरुले पनि पत्रकारीता क्षेत्रमा आफुलाई सक्षम र अब्बल बनाउन आफै अग्रसर हुनुपर्ने र अधिकारका लागि नेतृत्वतहमा आउन सुझाव पनि दिनुभयो ।
उहाँले समाजलाई रुपान्तरण गर्ने गरी कलम चलाउन र विभेद र पीडामा परेका समुदायका समाचार लेख्न पनि आग्रह गर्नुभयो । मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले समाजलाई कता लैजाने भन्ने बाटो पत्रकारकै हातमा हुने हुँदा सकारात्मक समाचार लेख्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्ट, महासचिव कृष्ण सारुमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदेश सरकारका विभिन्न मन्त्रालयबारे सम्बन्धित मन्त्रालयका सचिव र प्रवक्ताले जानकारी गराएका थिए भने बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, पत्रकार तथा लेखक अखण्ड भण्डारी, इन्द्रलक्ष्मी घिमिरे, प्रताप बिष्ट, लगायतले सहजीकरण गरेका थिए ।
