चीनबाट फर्किएका एक सय ७५ जना नेपाली आज भक्तपुर स्थित क्वारेन्टाईनबाट घर फर्किएका छन् । कोरोनाभाइरसको सङ्क्रमणमुक्त अवस्थामा घर फर्कन पाउँदा खुसी लागेको उनीहरुको प्रतिकृया छ ।
भक्तपुरको खरिपाटीमा दुई साता क्वारन्टीनमा राखिएका १७५ जनालाई कोरोनाभाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि सोमवार उनीहरू बाहिर निस्कन पाएका हुन् ।
दुई साताभन्दा अघि विशेष विमानमार्फत सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका उनीहरुमा सङ्क्रमण नभएको प्रयोगशाला परीक्षणमा पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कसैमा पनि सङ्क्रमण नदेखिएकाले खरिपाटी क्वारन्टीनमा बसिरहेकाहरू सोमवार आफ्नो घर फर्किएको बताए ।
कोरोनाभाइरस सङ्क्रमणपछि वुहानमा बाहिर निस्कन पनि डरमर्दो अवस्था भएको उल्लेख गर्दै उनीहरुले नेपाल फर्किएपछि क्वारन्टीनमा बस्दा पारिवारिक वातावरण रहेको बताए ।
कोरोना प्रकोप घटे पछि उनीहरु पुनः अध्ययनका लागि चीन फर्कने बताईएको छ ।