काठमाडौं आइतबार, १८ फागुन । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गर्दै रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा एक समिति बनाएको छ ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको हो । उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् ।
कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
उक्त समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ । केही दिनअघि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो ।
यसअघि कोरोना भाइरसको संक्रमण एक नेपालीमा पनि भेटिएको थियो । यसैगरी चीनबाट ल्याईएका एक सय ७५ जना क्वारेन्टाईनमा राखिएका छन् । दक्षिण कोरीया, खाडी मुलुक लगायतका देशमा रहेका नेपालीहरु पनि वजोखिममा पर्न सक्ने खतरा बढीरहेको छ ।