मोरङ, फाल्गुन १७ गते । मोरङ जिल्लाका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा मोरङको उर्लावारी नगरपालिका(८ मा रहेको जरुवा खोलामा खरेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका स्थानीय २१ बर्षिय अर्जुन नेपालीको उपचारको क्रममा गोदावरी अस्पताल उर्लावारीमा साँढे ३ बजे मृत्य भएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी मोरङकै सुनवर्सी नगरपालिका(७ बरडंगाका ३५ बर्षीय सन्तोष मुखियाको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रवार दिउँसो साँढे ३ बजे आफ्नै घरमा रहेको पानी तान्ने मोटरबाट पानी तानेर नुहाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मुखियाको उपचारको क्रममा टाईम्स अस्पतालमा अपरान्ह साँढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
उता मोरङको लेटाङ नगरपालिका(५ का ७४ बर्षीय मनि प्रसाद राईको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका राईलाई घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जनाईएको छ ।