आमा–
आफुजस्तै अँगेनोमा
ढुङ्ग्रोले आगो फुक्नु हुन्छ !
छोरो–
मरुभूमिको तावामाथि
मनको तातोले सपना पोल्छ !
……………..
जब उठ्छ
अँगेनोबाट धुवाँको मुस्लो आकाशतिर
आमालाई लाग्छ
धुवाँसँगै उडिरहेछन् – जीवनका सारा खुसीहरू !
किन यति लामो छ
यो जिन्दगी हिँड्ने बाटो पनि !
उफ् मेरी रामसाइँली !
कसरी हेरूँ म
यी आँखाहरूले सपना जलेका छोराछोरीहरू !
…………………
साँच्चै रामसाइँली !
खडेरी परेर
जिन्दगी सुकेको पतझडमा
यो भोकको डढेलो नसल्केको भए
रानीवन छोडेर
समयको भयावह गीत गाउँदै
सायद,
उड्दैनन् थिए होलान्
वनचरीका लस्करहरू रम्बलको पठारसम्म !
…………………
किरिङ-किरिङ-किरिरिङ….!
हेलो-हेलो-हेलो……..!
कल्लीमाया काकी हो ?
हो हजुर …….बोल्दै छु !
भिसा त,
अस्ति नै झरिसक्यो
लौ १२ गतेको फ्लाइट छ
छोरालाई तु पठाइदिनु होला !
………………..
फोन राखेर
बेस्सरी दौडिन्छिन् उनी
मेटिदै गरेका आफ्नै हस्तरेखाहरूको डिलैडिल !
………………..
मायादेवीले बुनिन्
फुङसामाले बुनिन्
सुम्निमाले बुनिन्
लक्ष्मनियाले बुनिन्
डोलसारीले बुनिन्
र आज पनि–
कल्लीमाया बुनिरहेछिन्,
उही पुरानो सपनाको मान्द्रे गुन्द्री !
………………….
जीवनको आँटीमा पल्टिएर
सारङ्गी रेट्दै
गाइनेदाई गीत गाउँछन् !
“दु:खैले रेट्यो नि कलेजी मेरो
थीरमा छैन मन
जाँदै छु उडी समुद्र पारि
छोडेर प्यारो वन !”
……………….
आमा–
सम्झना बुन्नुहुन्छ
र खुसीको बिट मार्न नभ्याउँदै
हरेक दिन –
आँखा चिम्लिनुहुन्छ – तानमै !
छोरो–
सपनाको चङ्गा उडाउँछ !
र लट्टाईबाट
अकस्मात् धागोचेट भएपछि
ऊ निदाउँछ – बालुवाको ओछ्यानमाथि !
………………..
जब ओर्लन्छ
जहाजबाट कफनबक्स् जमिनमा
तब तैरिदै बग्दो हो
यो भूगोलको नक्सा – आँसुको नदीमाथि !
…………………
आमाहरूको हातबाट
जुन दिन,
गुन्द्री बुन्ने हतासो हराउनेछ
सायद, त्यही दिन
सपनाको यही बिखण्डित गुन्द्रीमाथि
अन्तिमचोटि निदाउनेछ
एउटा निरीह देश पनि – मुर्दा बनेर !