काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ ।
बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको जनाएका हुन् ।
उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।
झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् । 
यसैबीच सवारी दुर्घटनामा परी घाइते हुनुभएका मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

“अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ”, चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन ।” मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिनुभयो । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँका अवस्था सामान्य देखिएको छ । “अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।
