बाम गठबन्ध हुदै पार्टी एकता गर्दा प्रचण्डले भन्थे अब ५० बर्ष कम्युनिष्टले सत्ता चलाउछ । देशलाई समृद्ध बनाउछ र समाजवादमा पुर्याउछ । भाषण गर्दागर्दै अहिले उनैले भाषण गर्न थालेका छन् । भक्तपुरमा कम्युनिष्ट पार्टीका संस्थापक नारायण बिलाश जोशीको स्मृतिमा आज आयोजित कार्यक्रममा प्रचण्डले भने ‘ कम्युनिष्टहरुले आफैले आफैलाई सिध्याउने खतराको संकेत पैदा भएको छ ’।
उनले २० औं शताव्दीमा खास गरी रुसमा पूजिपतिले वा बन्दुकले नभएर कम्युनिष्टले आफैले आफैलाई सिध्याएको स्मरण गर्दै नेपालमा पनि कम्युनिष्टहरु आदर्शबाट बिचलित हुदाँ त्यो खतराको संकेत रहेको उनले ब्याख्या गरेका हुन् ।
७० करोड कमिसनको सेटिङको अडियो रेकर्ड ृबाहिरिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घरमा बस्दै आएका गोकुल बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएर अब अख्तियारले डाम्ने संकेत बढेका बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो ।
कम्युनिष्टहरु सत्ता बाहिर हुदाँ आदर्शवादी बन्ने, जनतासगँ बस्न सक्ने ,खान सक्ने तर सत्तामा गए पछि विग्रिने गरेको भन्दै उनले त्यस्तो संकेत गरे ।
घटनाक्रमहरुले पनि नेकपा भित्र एक त आफै हानाहान र हिलो छ्यापाछ्यापको स्थिति देखिदैछ भने चितवन लगायतका ठाँउमा त हानाहान सम्मको स्थितिमा उनीहरु पुगेका छन् ।
वाईडबडीमा पूर्व मन्त्री रविन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन नभएको भए तानिने खतरा थियो भने यति काण्ड, ललिता निवास काण्डमा आफ्नै पार्टीका महासचिव विष्णु पौडेल समेत मुछिनु लगायत अनेकौ काण्डले नेकपाको सरकार घेरिदै गएको छ ।
एकातिर समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर उनीहरु सत्तामा बसेको दुई बर्ष पूरा भएको छ भने अर्कोतिर विभिन्न काण्डहरुले सरकारको छवि जनतामा धमिलो बन्दै गएको छ । दिन प्रतिदिन विभिन्न विधेयक, कानुन र गतिविधिका कारण सरकार अलोकप्रिय बन्दै गएको तर्क बुद्धिजीवीहरुको छ । मानिसहरुलाई के लागेको थियो भने दुई तिहाईको कम्युनिष्ट सरकारले बेरोजगारी अन्त्य गर्ने, सुसासन कायम गर्ने, नागरिकहरुलाई समृद्धितर्फ लान सक्ने छन् । तर पछिल्ला भ्रष्टाचार, कमिसन र चरम अनैतिक काण्ड र पार्टी भित्र भागबण्डा , महरा , पौडेल र बास्कोटा सहितका यौन दुष्कर्मदेखि एमसीसी, कालापानीको सिमा भारतले कब्जा गरेको बिषयमा प्रगतिमुलक काम गर्न नसक्नु जस्ता बिषयले सरकार रक्षात्मक बन्दै गएको देखिन्छ । यसले नेताहरुले भने जस्तै ८ लाख पार्टी सदस्य हुदाँ पनि पार्टी र सरकार रक्षात्मक बन्नुले खतरा महसुस गरेको हुन सक्छ । प्रचण्डकै शब्दमा त्यो खतरा अहिले नै नआए पनि भविष्यमा आउने संभावना वा संकेत भने देखिएको छ ।
२० औं शताव्दीमा कसरी सकिएको थियो त कम्युनिष्ट शासन ?
२० औं शताव्दीमा कम्युनिष्ट शासन पतनको सबै भन्दा ठूलो उदाहरण रुस हो । रुसमा १९१७ मा लेनिनको नेतृत्वमा भएको बोल्सेविक क्रान्तिको बलमा समाजवाद लागू गरिएको थियो । समाजवाद र रुसको रक्षामा स्टालीनको नेतृत्वमा जर्मन विरुद्धको युद्ध र विद्रोह तथा आन्तरीक युद्धमा करोडौं मानिसहरुले त्यो समाजवादका लागि बलिदान गर्न पुगेको थियो ।त्यसरी सत्तामा पुगेको र टिकेको कम्युनिष्ट पार्टीका नेताहरुलाई सन् १९८९ मा जनताले कठालो समातेर शहरमा घुमाएका थिए । भने लाट्भिया, रोमानिया र ईस्टोनियामा त्यो समयमा करीब २० लाख मान्छेले ६ सय किलो मिटर लामो मानव सांग्लो बनाएर कम्युनिष्ट शासनको बिरुद्धमा उभिएका थिए । त्यतिखेर मान्छेलाई लागको थियो । एटम बम हातमा रहेको, लाखौं लालसेना रहेको रुसी कम्युनिष्ट पार्टीले दमन गर्ने छ । तर अहँ त्यो लालसेना एक कदम अघि बढेन, एटम बम र ठूला हतियारको कुनै काम आएन खुरुखुरु जनताले कम्युनिष्ट शासक र नेताहरुलाई गलहत्याए ।
यसले पछि रुस विघटन भयो भने कम्युनिष्ट सत्ता पतन भयो । यही कुराले नेपालका कम्युनिष्ट नेताहरुलाई पनि पिरोलेको देखिन्छ । हो, जनता नै सबै भन्दा ठूलो शक्तिको स्रोत हो भन्ने चीनीया नेता माओको सिद्धान्तलाई आत्मसात नगरी भ्रष्टाचार, निजी सम्पत्ति, सुख, सविधाको भोग र बन्दुकको बलमा शासन गर्न खोज्ने हो भने नेपालको कम्युनिष्ट पनि रुसको त्यो हालतमा नजाला भन्न सकिन्न ।
आन्तरीक कलहको चूनौती
सबै भन्दा ठूलो पार्टी भए पनि नेकपा भित्र पार्टी भित्र पार्टी र त्यस भित्र गुट र उपगुटहरुको ठूलो समस्या छ । सभामुख चयनमा यो गुटगत अस्थित्वको सबै भन्दा ठूलो प्रभाव देखा पर्यो । अन्ततः प्रचण्ड पक्षको यसमा जीत भयो र उनले अग्नी प्रसाद सापकोटालाई सभामुख बनाउन सफल भए ।
त्यस पछि अर्को विवाद जनयुद्ध दिवससगँ सम्बन्धि देखा पर्यो । पहिला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि जनयुद्ध दिवसका दिन फागुण १ गते धुम्बाराहीमा हुने शहीदलाई श्रदाञ्जली कार्यक्रममा आउने भनेर पत्राचार गरियो तर ओली मात्र हैन माधव नेपाल र झलनाथ खनाल समेत त्याहाँ अनुहार सम्म देखाउन पुगेनन् । त्यस पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एउटा टेलिभिजन कार्यक्रममा त्यो जनयुद्ध नै थिएन , त्यस्तो कार्यक्रममा जाने भनिएकै थिएन । जनयुद्ध नभएकैले बिसर्जन भएको र पार्टी एकता जनयुद्ध दिवस मनाउन र जनयुद्धको भारी बोक्नका लागि नभएको भने पछि विवाद अझ चर्कियो नेता कार्यकर्ताका बीचमा । चितवनको रामपुर क्याम्पसमा मा त पूर्व एमाले र माओवादीपक्षबीच कुटाकुट नै भयो । यसले नेकपा भित्र हेर्दा ठूलो र बलियो शक्तिको रुपमा देखा पर्दा पर्दै पनि भित्र भित्रै आपसी कलह र भावनात्मक तिक्तताले समस्या पैदा गर्दै गएको स्पष्ट देख्न सकिन्छ ।
त्यस पछि वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्ति भन्दै सत्तालाई चूनौती दिईरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध पछि पनि सरकार थप आलोचित र अप्ठेरोमा परेको देख्न सकिन्छ । जनतामा या तल्लो स्तरमा यो प्रविन्ध र दमन नरुचाईएको सार्वजनिक प्रतिकृयाहरुबाट स्पष्ट हुन्छ ।
एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टी र सरकार कमजोर र रक्षात्मक हुदै गएको छ । यो कामना गरौं कि उनीहरु सबै समस्याको वैज्ञानिक व्यवस्थापनमा उनीहरु अग्रसर हुनेछन् र देशलाई समाजवादतिर लैजान लाग्नेछन् । तर उनीहरुले त्यसो नगरी निरन्तर गडबडी गर्दै गएमा उनीहरुको पतनलाई पनि २० औं शताव्दीको रुसमा जस्तै कुनै बन्दुक या बमले रोक्न सक्दैन । यो दृष्यको कल्पना कम्तिमा प्रचण्डले गरेको देखिन्छ ।