काठमाडौं, ९ फागुन ।
काठमाडौको बानेश्वरबाट पक्राउ परेका अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र बिकलाई यातना दिईएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।
प्रहरीले विकलाई सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरि विकलाई अपराध महाशाखा, टेकु पुर्याएको थियो ।
टेकु हिरासतमा रहेका बिकमाथि शारीरिक तथा मानसिक यातना दिईएको भन्दै उनको मानवअधिकारको रक्षा गरिदिन माग गर्दै शुक्रवार परिवारले आयोगमा उजुरी दिएको बुझिएको छ ।
राजनीतिक आस्थाकै कारण गैरन्यायीक रुपमा बिकलाई गिरफ्तार गरि हिरासतमा राखिएको र उनीमाथि कुटपिट तथा यातना दिएको भन्दै परिवारले आयोगमा शुक्रवार निवेदन परेको आयोगले जनाएको छ ।
आज सार्वजनिक बिदा भएकाले उक्त निवेदनउपर छिट्टै प्रकृया अघि बढाउने र घटनाबारे आयोगले सत्यतथ्य बुझ्ने जनाएको छ ।
बिद्यार्थी नेता नरेन्द्र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा भएकाले पनि राजनीतिक प्रतिसोध का कारण यातना दिएको भन्दै परिवारले सम्पूर्ण पत्रकार , रास्ट्रिय मानब अधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको अबलोकन गरिदिन आह्वान समेत गरेको छ ।
नरेन्द्रमाथि उनका पिता प्रकाण्डको बारेमा बिभिन्न प्रश्न सोद्धै कुटपिट गरिएको बुझिएको छ । अपराध महाशाखा, टेकुको हिरासतमा रहेका नरेन्द्रलाई भेटेर फर्किएका व्यक्तिका अनुसार नरेन्द्र अनुहार र शरीर भरि निलडाम रहेको छ र उनलाई अहिले सम्म प्रहरी उपचारको लागि अस्पताल नलगिएको बुझिएको छ ।