काठमाडौं, ४ फागुन ।
ब्रेन ट्युमरका कारण निधन भएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रमान सिंह राउतको आइतवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित उदयपुर जिल्ला साविक कटारी गा.वि.स. वडा नं. ४ निवासी राउतको शनिवार भक्तपुरको बालकोटमा निधन भएको थियो । राउतको काठमाडौँको मेडिसिटी र भारतमा उपचार हुदै आएका थियो ।
कांग्रेस उदपुरका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य राउतको जन्म वि.सं. २०१३ सालमा भएको थियो ।
वि.सं. २०२९ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरेर राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय राउतले २०३३ सालमा शान्ति सुरक्षा ऐन अन्तर्गत जलेश्वर कारागारमा करीब ९ महिना वन्दी जीवन व्यतित गरेका थिए ।
राजनीतिक शास्त्रमा एमए गरेका राउत २०३४ मा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, दुई कार्यकालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरको सचिव, २०४६ सालको ऐतिहासिक आन्दोलनमा पटक–पटक हिरासत, २०५० देखि २०५१ सम्म सुकुम्बासी समस्या समाधान आयोग उदयपुरको सदस्य, २०५३ देखि २०५९ सम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव, २०५७ मा नेपाली कांग्रेसको महासमिति सदस्य थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उदयपुरको कटारी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका राउत पराजित भएका थिए ।
स्वर्गीय राउतले नेपालको प्रजातान्त्रिक(लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको श्रीमती र तीन छोरी छन्।
राउतको आज दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । राउतलाई श्रद्धान्जली दिन काग्रेस सभापति शेरबहादुर देउवा, सांसद तथा काग्रेस नेता नारायण खड्का, अर्का नेता प्रकाशमान सिंह, कटारी नगरपालीकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलगायतका नेताहरु पशुपति आर्यघाट पुगेका थिए ।
यसैबीच, कांग्रेसका सभापति देउवाले राउतको निधनको खबरले अत्यन्त दुःखीत बनाएको बताएका छन् । स्वर्गीय राउतले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेको चर्चा गर्दै उनले राउतको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
