काठमाडौं, १३ माघ ।
नेपालको पहिलो फ्रेन्च दोभासे महिला भगवती उप्रेतीको फ्रान्सेली लोककथाहरुको नेपाली अनुवाद कृति ‘एकादेशमा’ बजारमा आएको छ ।
८२ वर्षिय उप्रेतीको उक्त पुस्तक आइतवार राजधानिमा एक कार्यक्रमकाबीच नेपाल–फ्रान्स मैत्री संघका अध्यक्ष तथा उप्रेतीकै ५ बर्षिय नातीद्धारा लोकार्पण गरिएको हो ।
कृतिमा ‘गधा र कुकुर’, ‘दुध भण्डार’, ‘जुत्ता सिउने सार्की डाक्टर’, ‘नीना(गुलाबी पुतली)’, ‘मुसो’ लगायत १८ वटा कथा रहेका छन् ।
स्वर्गीय राजा महेन्द्र र वीरेन्द्रको पालामा दरबारसँग जोडिएर लामो समय दोभासेको काम गरेकी उप्रेतीले सन् १९८३ सालमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ मितेरा नेपालको राजकीय भ्रमणमा आएका बेला पनि दोभासे बनेकी थिईन् ।
उनले लामो समय फ्रान्समा नै बिताएकी थिईन् । सोहि समय फ्रान्स भाषामा छापिएका पुस्तकहरु अध्ययन गर्दा राम्रा लागेका कथाहरु अनुवाद गरेको उनले सुनाईन् ।
त्यहि अनुवादलाई अहिले कृतिको रुपमा वजारमा ल्याएकी उप्रेती भन्छिन्, “मेरो यो सानो प्रयासले नेपाली नानी बाबुहरुलाई फ्रान्समा पनि यस्ता कथाहरु लेखिदा रहेछन् भन्ने ज्ञान प्राप्त हुनुका साथै बालबालिकाको ज्ञानको क्षितिज फराकिलो बनाउन केहि सहयोग पुग्ने अपेक्षा सहित अनुवाद गरिएका कथाहरु प्रकाशनमा ल्याएकि हुँ ।”
उप्रेतीको यो दोस्रो कृति हो । चार दशक अघि उनले ‘रोयम डु नेपाल’ नामक पुस्तकको सहलेखन गरेकी थिईन् ।

सानै उमेरमा विवाह भएपनि आफ्ना पति स्वर्गीय डिल्लीराज उप्रेतीको सहयोगमा कक्षा दश सम्म माईतमै बसेर अध्ययन गर्ने अवसर पाएकी थिईन् ।
डिल्लीराज उप्रेती फ्रान्सका पूर्वराजदुत हुँदा उनी फ्रान्स पुगेकी थिईन् । उनले त्यहि रहँदा भाषा सिकेर दोभासेको काम गर्न सुरु गरेकी हुन् ।
उक्त पुस्तक लोकार्पण समारोहमा उपस्थित खेतानले फ्रान्सेली समाज र संस्कृति बुझ्न कथाहरुले सहयोग गर्ने बताउदैँ कृतिलाई बुढेसकालको सिर्जनात्मक उपलब्धिका रुपमा लिनुपर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताए ।यो पुस्तकको मूल्य १०० रुपैया रहेको छ ।

