साहित्यिक क्षेत्रमा संलग्नको प्रतिभा सुनाउन विराटनगरमा सहकारीले मञ्चको अवसर प्रदान गरेको छ । राष्ट्र सेवक सहकारी संस्थाले विराटनगरका साहित्यकारका भावना पोख्ने मञ्च खडा गरेको हो ।
प्रत्येक महिनाको दोस्रो शुक्रबार सहकारीमा साहित्यकारहरुको जमघट हुन्छ । आ–आफ्ना सिर्जना लिएर उपस्थित साहित्यकारले सहकारीको मञ्च प्रयोग गरेर कविता बाचन गर्दछन् । एकअर्कोलाई सुन्ने र सुनाउने गर्दछन् । सिर्जना गरिएका कविता सुनाउन जानेहरुले फरक–फरक भाव र शैलीलाई अंगाल्छन् ।
साहित्यिक मञ्चको प्रवन्ध फरक संस्थाले सुरुवात गरेपछि साहित्यकारका सिर्जना सहजै सुन्न र सुनिन पनि थालेका छन् ।
सहकारीले बाइसौं संस्करणसम्मको कार्यक्रम सहज रुपमा संयोजन गरिसकेको छ । साहित्यकार तथा कवि मधु पोखरेलको संयोजकत्वमा छ सदस्यीय समिति बनाएर कार्यक्रमको आयोजना गरिदैं आएको छ ।

राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेका अनुसार समाजमा रहेका प्रतिभालाई बलियो बनाउने आधारको रुपमा मञ्च खडा गरिएको हो । २२ औं संस्करणसम्म आउँदा छ सय कविले आफ्ना सिर्जना सुनाईसकेको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।
सहकारीका सात सिद्धान्तमध्ये समुदाय र वातावरणप्रतिको चासो सातौं सिद्धान्तमा पर्दछ । राष्ट्र सेवक सहकारीले यहि सिद्धान्तका आधारमा कार्यक्रम राख्दै आएको हो ।
सहकारी माध्यम बनेर साहित्यकार जम्मा पार्ने प्रवन्ध गरे जस्तै मोरङमा गाउँमै कविता र रंगकर्मी प्रस्तुत हुने मञ्चको थालनी समेत गरिएको छ । ग्रामथान गाउँपालिका–२ मा रहेको झोराहाट नाटक घरमा समेत महिनाको दोस्रो शनिबार यस्तो साहित्यिक कार्यक्रम आयोजना गरिदैं आएको छ ।