काठमाडौं, माघ १० । प्रतिनिधिसभाकाे सभामुखका उम्मेदवार अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न मार्ग गर्दै सर्वोच्च अदालतमा रिट शुक्रबार दायर भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले हत्या आरोप लागेका सापकोटालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया सुरु गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न–नगराउन, निर्वाचन प्रक्रिया तत्काल रोक्न, पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने, लामो समयसम्म अभियोजन नगरिएकाले प्रहरी अधिकारीहरुलाई पनि कारबाही गरिनु पर्ने र सापकोटामाथिको अनुसन्धान गर्न ‘टाक्स फोर्स’ बनाउनु पनि माग गरिएको छ ।अधिवक्ता त्रिपाठीले विधिको शासन कायम गर्न जघन्य अपराधका आरोपीलाई सभामुख बनाउन नहुने अभिप्रायले रिट दायर गरेको बताए ।
उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको छ । सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई तत्कालीन माओवादी कार्याकर्ताले अपहरण गरेर हत्या गरेका थिए ।
लामाको शव अपहरणको दुई महिनापछि गाडेको अवस्थामा फेला परेको थियो । घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएकी थिइन्।