विराटनगर, ९ माघ ।
बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले दिएकाे आदेश उच्च अदालत विराटनगरले बदर गरेको छ।
धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको हो।
आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई जिल्ला अदालत सुनसरीमा दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियाे।
तर, बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।मुलुकी फौजदारी कार्यविधी संघिता २०७४ को दफा ६७ (१) ख बमोजिम कृष्णदासलाई मुद्दाको पुर्पक्षको लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको रजिष्ट्रार जितेन्द्र बावु थपलियाले जानकारी दिए ।
‘तत्कालको प्रमाणहरू हेर्दा प्रतिवादीलाई अहिले नै कसुरदाह होइन भन्ने सक्ने अवस्था नहुँदा कृष्णदासलाई मुद्दाको पुर्पक्षको लागि तीन लाख धरौटि वा जमानत लिइ तारेखमा राख्ने गरि सुनसरी जिल्ला अदालतले गरेको आदेश बेरिदको देखिदा बदर गरिदिएको छ,’ उच्च अदालतले गरेको आदेश पत्रमा उल्लेख छ ।
गत पुस १४ गते सुनसरी अदालतका न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटिमा छोडन आदेश गरेको थियो । जिल्ला अदालत सुनसरीको आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले गत पुस २२ गते उच्च अदाल विराटनगरमा १७ नम्बर गरेका थिए । सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालतमा साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका थिए ।
बिहीबार भएको बहसमा सरकारी वकिलकोतर्फबाट उपन्यीधिवक्ता रामकुमार थापा, पदमबहादुर वस्ती, जिल्ला न्यायधीवक्ता गोकुल बहादुर निरौला, शाखा अधिकृत रेवती सुवेधीले बहस गरेका थिए । प्रतिवादीकोतर्फबाट ९ जनाले बहस गरेको थिए ।
सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएको थियो ।
कृष्णदास भारततिर फरार
उच्च अदालत विराटनगरको १ नम्बर इजालशमा कृष्णास गिरीविरुद्धको मुद्दाको सुनुवाइ चलिरहेका बेला सुरक्षा गार्ड फिर्ता गरेर भारततिर लागेका छन् ।
मुद्दाको पेसी उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला गिरी भारततर्फ फरार भएका हुन् ।
सुनसरी चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिडेका गिरीमाथि प्रहरीले सामान्य निगरानी राखेको थियो । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हवल्दार मुकेश साहलाई खटाएको थियो ।
हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारततर्फ लागेका हुन् । ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर उनी जोगवनी हुँदै दक्षिण तर्फ लागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए । सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् ।
यता सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरी उपचारका लागि भन्दै भारत गएको हुनसक्ने बताए। गिरी भारततर्फ गएपछि सुरक्षा गार्ड हवल्दार मुकेश साहलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ तानिएको छ। जगदगुरु घोषणा भएपछि कृष्णदासलाई नेपाल प्रहरीका हवल्दारलाई उनको सुरक्षार्थ अंगरक्षक खटाइएको थियो।