९ माघ, विराटनगर ।
बलात्कार मुद्दामा उच्च अदालत विराटनगरमा सुनुवाइ चलिरहेका बेला चतराधामका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी भारततर्फ गएका छन् ।बिहीबार उनीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला गिरी सुरक्षा गार्ड फिर्ता गरेर भारततर्फ गएका हुन् ।
जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका गिरी र वादी सरकारी वकिलको कार्यालय दुवैले जिल्ला अदालतको आदेश कानुन सङ्गत नभएको दाबी गर्दै उक्त आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका थिए । बिहिवार साेहि मुद्वामा सुनुवाइ चलिरहेका बेला सुनसरी चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिडेका उनी हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका थिए । त्यहिबाट गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारततर्फ लागेका हुन् । ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर उनी जोगवनी हुँदै दक्षिण तर्फ लागेका हुन् ।
उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाएको थियाे ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।
सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् । विराट नर्सिङहोमबाट रेफरपूर्जी बनाएर उनी थप उपचारका लागि दिल्ली लागेको स्रोतले बताएको छ । दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।
बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उनी अनुसन्धान अवधिभरपनि अस्पतालमा बसेका थिए ।