मकवानपुर, ७ माघ । मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ स्थित दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अर्धचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकलाइ उपचारका लागि काठमाडाैं ल्याइएकाे छ ।
सोमबार बेलुवा एउटै कोठामा सुतेका ८ जना पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले बताए । उनीहरुलाई कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा पठाइएको उनले जानकारी दिए ।
कोठाभित्र झ्याल ढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिए ।
दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने थाहा नगर होटल ब्यवसायी संघका अध्यक्ष शिवराम खत्रीले बताए । १५ जनाको समूहमा दामान पालुङ घुम्न आएको भारतीय नागरिकमध्ये एउटा कोठामा सातजना अर्कोमा ८ जनाले रात बिताएका थिए ।