वीरगंज,४ माघ । प्रदेश २ मा ट्राफिक दुर्घटनामा कमी ल्याउन तथा ट्राफिक नियम बारे आम सर्वसाधारण तथा नियमनकारी निकायहरु गम्भीर हुन सराेकारवालाले जाेड दिएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणीज्य बैंकको सहकार्यमा शनिबार सम्पन्न सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रममा सहभागी सराेकारवालाले ट्राफिक नियम पालना गरे दुर्घटना न्युनिकरण हुने बताए ।
कार्यक्रममा प्रदेश २ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले प्रदेश २ मा ट्राफिक नियम पालना नगरेका कारण नै दुर्घटनामा वृद्धी भएकाे बताउनु भएकाे छ । पछिल्लाे तथ्यांक प्रस्तुत गर्दै उहाँले ०७५/०७६ मा ४ सय ९६ जना र चालु आर्थिक वर्षको हाल सम्ममा २ सय ४१ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएकाे बताउनु भयाे ।
अघिल्लाे वर्ष ०७४/०७५ मा सवारी दुर्घटनामा परेर ३ सय ९४ जनाले ज्यान गएकाे थियाे । त्यसैगरी ०७४/०७५ मा ११ सय ५ वटा सवारीहरु दुर्घटनामा परेका थिए भने ०७५/०७६ मा ९ सय १४ वटा र चालु आर्थीक वर्षको हाल सम्ममा ५ सय २७ सवारीका साधनहरु दुर्घटनामा परिसकेको जानकारी दिनुभयाे ।सवारी दुर्घटनामा परेर मानीस घाईते भएको ०७४/०७५ मा १७ सय १५ र ०७५/०७६ मा १२ सय ६९ तथा चालु आर्थीक वर्षको हाल सम्ममा ७ सय ८८ जना दुर्घटनामा परेर घाइते भएको ट्राफिक प्रहरी उपरीक्षक महतोले जनाएका थिए ।८० प्रतिशत भन्दा बढी दुर्घटनाहरुमा आम सर्वसाधारणको गल्तीले भएको देखीएको उहाँले बताउनु भयाे ।
साना साना गल्तीका कारण पनि ठुलो दुर्घटना निम्तीरहेकाले गम्भीरता पुर्वक ट्राफिक नियम पालना गरि दिन ट्राफिक प्रहरी उपरीक्षक महतोले आग्रह पनि गर्नु भयो ।
बीरगञ्ज महानगरपालीकाका नगरप्रमुख विजय कुमार सरावगीले हाम्रो सुरक्षाको लागी बनाइएको ट्राफिक नियम हामीले पालना नगरेमा ट्राफिकले जरिवाना मात्र काटेर ट्राफिक दुर्घटना न्युनिकरण नहुने बताउनु भयो ।
वीरगञ्जमा ट्राफिक व्यवस्थापन गर्न गुरु योजना बनाइसकेको जानकारी गराउदै मेयर सरावगीले मुख्य सडक तोडने मुद्धा अदालतमा विचाराधिन रहेकोले अदालतको निर्णय आएसंगै गुरु योजना अनुरुप वीरगंजमा ट्राफिक व्यवस्थापनका विभिन्न कार्यहरु सुरु हुने जानकारी दिनु भयो ।

यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नियमनकारी निकायको नियन्त्रणको प्रयास फितलो भएको कारण सवारी दुर्घटनामा वृद्धी हुनुका साथै ट्राफिक उल्लंघनका घटनामा समते वृद्धी भइरहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न सवारी चालक तथा ट्राफिक प्रहरीलाई २ सय ५० वटा फोल्लोरोसिंग ज्याकेट वितरण गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कायक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षक कमलराज पण्डीतले गरेका थिए ।
- राहुल गुप्ता