४ माघ, काठमाडौं ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलीबाट भने मौसम पूर्ण रुपमा सुधार हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनु भयो ।
आज उच्च पहाडी तथा हिमाली भेगमा भने दिनभर नै हिमपातको जोखिम रहेकोले सो क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
गत बुधबार देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । वर्षाका कारण चिसोसमेत बढेको छ । तर, यो प्रणाली आजबाट कमजोर बन्दै गएकाले मौसममा क्रमिक सुधार हुने मौसमविद् पोखरेलको भनाई छ ।
काठमाडौंमा आज बिहान हुस्सु लागेपनि दिउँसोबाट घाम लाग्नसक्ने सम्भावना रहेको मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।
यद्यपि, भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भूभागको मौसम घमाइलो हुने पोखरेलले जानकारी दिनुभयो । ‘आज घाम र बदलीबीच लुकामारी चले पनि भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भागमा घाम लाग्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भन्नुभयो ।