काठमाण्डौं माघ १ । जनयुद्धमा राज्य पक्षले १२ हजार मान्छे मारेको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले विद्रोहीबाट बाकीँ पाच हजारको भने आफूले जिम्मा लिने बताएका छन् ।
१७ हजार नै मारिएका मान्छेको जिम्मा आफूले नलिने उनले बताए । काठमाडौंमा बुधबार आयोजित थारू राष्ट्रिय माघी महोत्सवमा दाहालले विद्रोही पक्षबाट मारिएकाको जिम्मा लिने तर राज्यपक्षबाट मारिएकाको जिम्मा कसले लिने ? प्रश्न गरेका थिए । आफू नभाग्ने भन्दै उनले युद्धको जिम्मा र राम्रा नराम्रा कामको जिम्मा लिन तयार रहेको प्रचण्डले बताए ।
यसैगरी दाहालले द्वन्द्वको क्रममा तत्कालीन शाही नेपाली सेना त्यागेर विद्रोही माओवादीको जनमुक्ति सेनामा प्रवेश गर्नेहरूलाई हालै आएर कोर्ट मार्सल गरी जेल चलान गरेकोमा आपत्ति जनाए ।
सेना परित्याग गरेर माओवादी सेनामा सहभागी भएका गोरखाका विक्रम गुरुङलाई साउन महिनामा जेल चलान गरिएको थियो भने मोरङका सुनिलकुमार भगतलाई पनि ’भगौडा सेना’का रूपमा जेल चलान गरिएको थियो। दाहालले आफूसँग लागेका उनीहरूको पक्राउ ठीक नभएको बताए।
’सेनाबाट जनमुक्ति सेनामा आएका मान्छेलाई केही पहिलेमात्रै पक्राउ गरेर जेल हालिएको छ। उनीहरूलाई छुटाउन मेरो आन्दोलन जारी छ,’ दाहालले भने ।
दाहालले राजपाका सांसद रेशम चौधरीलाई जेलमुक्त गरिने पनि दावी गरे । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसामा प्रहरी अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो। जसमा चौधरीको संलग्नता रहेको भन्दै उनलाई अदालतले जेल पठाएको छ ।
दाहालले भने चौधरीलाई झुटो मुद्दा लगाइएको बताए । उनले भने, ’रेशमलाई प्रधानमन्त्रीको हैसियतले दिल्लीमा भेटेर तपाईंको कुरा के–के थियो भन्ने म थिएँ। डिल्लीबजारको खोरमा गएर भेट्ने पनि मै हो ।’
कैलालीबाट प्रतिनिधिसभामा निर्वा्चित चौधरीलाई शपथ गराउन आफूले भूमिका खेलेको दाहालको भनाइ थियो।