पुष २९ काठमाण्डौं । पछिल्लो समय सत्तारुढ पार्टी भित्र रहेर पनि एमसीसी, कालापानीमा भारतीय अतिक्रमणको बिरुद्ध खरो रुपमा प्रस्तुत हुदै आएका नेता भीम रावलले आफूलाई वालुवाटार ( प्रधानमन्त्री निवास ) सम्बद्ध व्यक्तिले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
सगरमाथा टेलिभिजनमा दिएको अन्तवार्तामा रावलले लेडी डायनाले जस्तै ज्यान गुमाउनु पर्ला भनेर धम्की आएको तर आफू त्यसबाट नडराउने बताए ।
उनले पुष्पलालको मृत्यु भएर कम्युनिष्ट आन्दोलन नरोकिएको , मदन भण्डारीको गाडी दुर्घटनाको नाटक गरेर हत्या गरे पनि उनको देशभक्तिपूर्ण बिचार नहराएको भन्दै आफू कसैको धम्की र निरकुश व्यवहारबाट नडराउने भन्दै चूनौती दिए ।
आफू मर्न नडराएको र नरोएको भन्दै उनले प्रतिवाद गरे पनि धम्की दिने को हो भन्ने एकीन छैन ।
तर सामाजिक सञ्जालमा रावलले लिएको नाम लेडी डायना र पापाराजीको चर्चा जोडेर भने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रावललाई लक्षित गरेर फेसबुकमा पोष्ट गरेको देखिन्छ । यसैलाई रावलले संकेत गरेका हुन् वा अरु कोही छ ?