पुष २४ काठमाण्डौं । नेकपा भित्र सभामुख चयन र एमसीसी पारित गर्ने विषयमा विवाद भईरहेका बेला उपाध्यक्ष बामदेव गौतमको निवासमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनी पक्षधर नेता बाहेकका अन्य शीर्ष नेताहरुले गोप्य जमघट गरेका छन् ।
प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको हो । नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला यो बैठक हुनु अर्थपूर्ण छ ।
भैंसेपाटी स्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए । बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली स्वयं र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्।
यसअघि २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा यस्तै गोप्य छलफल गरेका थिए। त्यस बेला ओलीविरुद्ध ध्रुवीकरणका लागि त्यस्तो छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो। यसपटक भने सचिवालय सदस्य गौतमको निवासमै नेताहरूले गोप्य छलफल गरेका थिए।
वरिष्ठ नेता खनालले पार्टी्भित्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया दिए। ‘पार्टी्भित्रका आन्तरिक समस्याका विषयमा सामान्य छलफल भएको हो।
स्रोतका अनुसार अध्यक्ष दाहालले सभामुख चयनका विषयमा प्रधानमन्त्री ओलीसँग भएका छलफलबारे ब्रिफिङ गरेका थिए। ‘पहिले सभामुख र प्रधानमन्त्री पद भागबन्डा भएको हो। प्रधानमन्त्री आलोपालो गर्दा सभामुख पनि छोड्ने सहमति भएको थियो। तर प्रधानमन्त्री पूरै कार्यकाल ओलीलाई दिने भन्ने भएपछि सभामुख मैले प्रस्ताव गर्न पाउनुपर्छ,’ दाहालले ओलीसँगको छलफल ब्रिफिङ गर्दै भनेका थिए, ‘सभामुख मैले प्रस्ताव गर्ने हो। तपाईं (ओली) ले सुवास नेम्वाङलाई नै बनाउने अन्य कसैलाई नबनाउने भन्नुहुन्छ भने त्यो ठीक छ। तपाईं प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष बन्नुहोस् म प्रधानमन्त्री बन्छु। मैले त्यसरी कुरा राखेको छु।’
प्रधानमन्त्री ओलीले भने नेम्बाङलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए। ‘योग्य, अनुभवी, सबै हिसाबले उपयुक्त हुने सुवास नेम्वाङ हुन्। नेम्वाङलाई पनि एउटा राम्रो जिम्मेवारी दिन आवश्यक छ। उहाँलाई के जिम्मेवारी दिने ? सबैभन्दा उपयुक्त उहाँका लागि यही जिम्मेवारी हो। पूर्व एमाले–माओवादी अब नभनौं, नेम्वाङ पनि अब तपाई (दाहाल) कै हुन् भन्ने प्रधानमन्त्रीको तर्क छ’, ओलीलाई उधृत गर्दै दाहालले आफूनिकट नेताहरूलाई सुनाएका थिए। ‘तपाईंले नेम्वाङ मात्रै देख्ने भए प्रधानमन्त्री छोड्नुहोस, नेम्वाङलाई बनाएर जाऔं पुरानो सहमति पनि ख्याल गर्नुपर्छ, मलाई पनि अप्ठ्यारो छ,’ दाहालको अडान सुनाउँदै दाहाल निकट एक स्थायी समिति सदस्यले भने।
गौतम निवासको बैठकपछि पनि दाहाल ओलीलाई भेट्न बालुवाटार गएका थिए। स्रोतका अनुसार त्यसमा पनि उनले पुरानै अडान राखे। ओलीले पनि नेम्वाङको अडान छाडेनन्।
‘सभामुख छोड्नैपर्ने हो भने तपाईं (ओली) प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस, म प्रधानमन्त्री हुन्छु।’ (पुष्पकमल दाहाल
स्रोतका अनुसार दाहालले आवश्यक परे आफूले प्रस्ताव गर्ने व्यक्तिसहित तीन जना बसेर विश्वासको वातावरण बनाउन सकिने बताएका छन्। ‘म अग्नि सापकोटालाई लिएर आउँछु, हामी तीन जना बसौं, कहाँकहाँ तपाईंलाई अप्ठ्यारो हुन्छ भन्ने लाग्छ, त्यहाँ समझदारी बनाऔं’, दाहालले ओलीसँग राखेको प्रस्ताव उधृत गर्दै पूर्वमाओवादी धारका एक स्थायी समिति सदस्यले भने।
दाहालले दुई अध्यक्षबीच विषय नमिल्ने भए सचिवालयमा प्रस्ताव लिएर जान प्रस्ताव गरेको स्रोतले बतायो। ‘सचिवालयमा जाँदा भद्रगोल हुन्छ र बिग्रन्छ। तपाईं र मेरो कुरा नमिली सचिवालयमा लान हुँदैन भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ,’ दाहालको पछिल्लो बिफ्रिङ सुनेका ती नेताले भने।
माधव नेपाल पक्ष यसमा मौन छ। सचिवालयमा विषय आएमा नेपाल, खनाल र गौतमसम्मले आफूलाई साथ दिने विश्वमा दाहाल देखिन्छन्। तर वरिष्ठ नेता खनाल पार्टीबाट योग्य व्यक्ति सभामुखमा आउने तर अहिले सचिवालयमा दुई अध्यक्षले विषय प्रवेश नगराएको बताउँछन्। ‘सुवास र अग्नि जो भए पनि दुवै जना योग्य हुनुहुन्छ, जसलाई दिए पनि उहाँहरूले चलाउनु सक्नुहुन्छ। तर यो विषय पार्टी सचिवालयमा प्रवेश पाएको छैन। दुई अध्यक्ष छलफलमै हुनुहुन्छ, उहाँहरूले सचिवालयमा ल्याउनुभयो भने हामी मिलाउँछौं,’ खनालले भने।
दाहालले पूर्वमाओवादी धारमा भने यस विषयमा एक ढिक्का बनाएका छन्। ‘प्रचण्डजी व्यक्ति को हुने भन्ने दोस्रो विषय हो, तर सभामुख पूर्वमाओवादीबाटै हुनुपर्छ भन्नेमा पुग्नुभएको देखिन्छ,’ दाहाल निकट ती नेताले भने। पूर्वमाओवादी खेमामा आकांक्षी धेरै देखाएर कुरा नमिले सीधै नेम्वाङ हुन सक्ने अनुमानमा थिए ओली। तर यो बुझेरै दाहालले पूर्वसमूहमा पनि नाम दोस्रो विषय भएको भन्दै पहिले पूर्वमाओवादीले पाउनुपर्नेमा सबै एकमत हुनुपर्ने भन्दै आकांक्षी सबैलाई एक ढिक्का बनाएका छन्। सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङफे पनि आकांक्षी छिन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको बताइन्छ।
प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले नेता गौतमका घरमा भएको भेटबारे जानकारी नभएको बताए। ‘कार्यकारी अध्यक्ष भएपछि पार्टी कसरी चलाउने भन्ने छलफल गर्नुभएको होला। उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ हेरौंन,’ दाहालतर्फ लक्ष्य गर्दै उनले भने।
सभामुख छाड्न दाहालले मागे प्रधानमन्त्री
नेकपामा सभामुख चयन सकसपूर्ण बन्दै गएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्। यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि निचोडमा पुग्न सकेनन्।
त्यसअघि सोमबार सिन्धुपाल्चोक ‘रिफ्रेसमेन्ट’ मा जानुअघि दाहालले बालुवाटारमै भेटेर प्रधानमन्त्री ओलीलाई सभामुख छाड्न नसक्ने बताएका थिए। स्रोतका अनुसार दाहालले सभामुख पूर्वएमाले समूहलाई छोड्दा प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछ।
‘सभामुख छोड्न सकिन्छ, तर त्यसका लागि तपाईं (ओली) ले प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ दाहालले ओलीसँग प्रस्ताव गरेका थिए। उनले यो विषयको जानकारी गौतम निवासमा भएको छलफलमा पनि नेताहरूलाई सुनाएको स्रोत बताउँछ।
अन्नपूर्णबाट