रुपन्देही, पुस २० ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले तीन दिने राष्ट्रिय छात्रा सम्मेलन रुपन्देहीको सिद्धार्थनगरमा सम्पन्न गरेको छ । शनिबार सम्पन्न छात्रा सम्मेलनमा देशमा भइरहेको महिला सुरक्षाका विषय, आर्थिक अवस्था, नारीको समग्र देशको स्थितीको बारेमा छलफल भएको थियो ।
गत विहीबारबाट सुरु भई शनिबार सम्पन्न भएको छात्रा सम्मेलनमा मुलुभरको २०० भन्दा बढी छात्राहरुको सहभागिता रहेको विद्यार्थी परिषदका राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सम्मेलनबाट २५ सदस्यीय राष्ट्रिय छात्रा टोली समेत गठन गरिएको छ । सम्मेलनमा विद्यार्थी परिषद्को सैद्धान्तिक भूमिकामाथि विचार विमर्श गर्नुका साथै मुलुकमा छात्राहरुको अवस्था, अवसर र चूनौति, आदर्श नारी, मिसन साहसी, महिला आन्दोलन लगायतका विषयमा बहस भएको थियो ।
साथै सम्मेलनले आगामी दिनमा छात्राहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि आवश्यक कार्यक्रमहरुको योजना समेत बनाएको विद्यार्थी परिषदले जनाएको छ । देशमा बढ्दो महिला यौन दूव्र्यवहार लगायत अन्य हिंसाको न्यूनिकरण गर्न र त्यस्ता घटनाबाट बच्नुका साथै लड्न छात्राहरुलाई आत्मविश्वास सबल र सक्षम बनाउन सुरु गरेको मिसन साहसी कार्यक्रमको बारेमा पनि सम्मेलनले समीक्षा गरेको थियो ।
सम्मेलनमा विद्यार्थी परिषदका राष्ट्रिय उपाध्यक्ष अशोक पन्त, महासचिव सुरेन्द्रप्रसाद भट्ट, राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेल, राष्ट्रिय सचिव छितराज न्यौपाने, निशा क्षेत्री, अखिल भारतीय विद्यार्थी परिषदका राष्ट्रिय छात्रा प्रमुख ममता यादव, सिद्धार्थ नगरपालिकाका मेयर हरि अधिकारी, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल झा, सामाजिक एवं महिला व्यक्तित्व ज्ञानु पौडेल, चितवन मेडिकल कलेजकी अध्यक्ष ममता न्यौपानेको उपस्थिति रहेको थियो ।
