पुसको ठिहीमा चोटिला सिर्जना-लौ न अब खुकुरीमा धार लगाउनु पर्याे…..

पुसको ठिहीमा चोटिला सिर्जना-लौ न अब खुकुरीमा धार लगाउनु पर्याे…..

  • आइतवार, पुस ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

– पुसको ठिही । रसिला–चोटिला सिर्जनाले शनिबार गर्मायो । विविध रचनाका रसस्वादनमा यहाँका वाङ्मयप्रेमी औधि खुशी हुनुभयो । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि, गजलगो र मुक्तककारले आफ्ना रचना पस्किदा सयम व्यतित भएको पत्तै भएन ।
काव्यका विविध विधालाई साहित्य पारखीले एकै मञ्चमा प्रस्तती दिनुभयो । कार्यक्रमको तारतम्मे मिलाएको थियो, हातेमालो साहित्य सङ्गम बागलुङ शाखाले ।

पर्वतका कवि ओमप्रसाद घायल, म्याग्दीका गजलगो शङ्कर चोखाल र बागलुङका मुक्तककार ताराप्रसाद शर्मा ‘स्टार’ रचनासाथ मञ्चस्थ हुनुभयो । मञ्चमा घायलले छ कविता, चोखालले नौ गजल र शर्माले १५ मुक्तक प्रस्तुती गर्नुभयो ।
‘घरमा आगो लाग्यो भने दमकल आउँछ
जब दमकलमा आगो लाग्छ केले निभाउँछ ।’

गजलगो चोखालले सुनाएको पहिलो शेरमै गजलप्रेमी मुग्ध हुनुभएको थियो । दर्शकदीर्घाबाट ताली गुञ्जियो । उहाँले बाँकी गजलका बाँकी शेर यसरी सुनाउनुभयो–
‘ल तपाईँ भनिदिनुस् त एउटा अनुत्तरित प्रश्न सोध्छु
तपाईँलाई आलरामले उठाउँछ कि कर्तव्यले उठाउँछ ।’

प्रणय भावमा गजलो चोखाल यसरी अभिव्यक्ति राख्नुभयो–
‘आँशु, आँशु मात्रै भएको छैन, नदी भएको छ
तिमीलाई सम्झिरहनु पनि त प्रगति भएको छ’

तीनै सजर्ककका रचनाले जीवन र जगतका विविध विसंगति र विकृतिलाई समावेश गरेको थियो । विसङ्गतपूर्ण राजनीति, अव्यवस्थादेखि मानवीय प्रेम र संवेदना सिर्जनामा मुखरित भएको प्रतित हुन्थ्यो ।
कवि घायलले आमाप्रति समर्पित कविता सुनाउँदा प्रेक्षालयमा सन्नाटा छायो । श्रोता भावुक बनिरहेँ ।
‘डाँडामा घाम डुब्नुअघि
सडकको पर परसम्म आँखाहरु ओछ्याएर
तिमीले त्यसरी नै
कुर्दीहौली आमा मेरो निठुर बाटो
तर तिमीलाई उधारो भाखा दिएर
म पनि जल्दैछु, एउटा पश्चतापको अग्नि ।’

उहाँले आमा, फूलमाया, बलेवामा जहाजलगायतका शीर्षकका रचना वाचन गर्नुभयो । २७ वर्षदेखि बन्द बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदाको अनुभूति उहाँको कवितामा यसरी प्रकट हुन्छ–
‘कुनै बेला बलेवाको आकाशमा जहाज उड्दा
मेरी हजूरआमाले भन्नुहुन्थ्यो
ए हवाईजहाज मेरो नातिलाई पैसा फालिदे
हजूरआमाको त्यो भनाइ सुनेर
मेरो बाल मष्तिस्कमा
एउटा सपनाको अङ्कुरण भएको थियो
त्यो जहाजले कुनै दिन
मेरा लागि पैसा फालिदिनेछ ।’

विडम्बना, डेढ वर्षअघि रचित कविता पुरानो हुन नपाउँदै विमानस्थल भने पुनः बन्द भएको छ । विमानस्थलको नाममा रचित कविता सुनेर कार्यक्रमका प्रमुख अतिथि एवं बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भावुक बन्नुभयो । कविताको नामै लिएर उहाँले कवि घायललाई धन्यवाद प्रकट गर्नुभयो । नगरपालिकाले विमानस्थल सञ्चालनका लागि गरेको पहल धेरै दिन टिकेन ।

बागलुङका सर्जक शर्मामा रसिला–भरिला मुक्तकले कार्यक्रम अझ रोचक बन्यो । प्रायः गजल र मुक्तकमा रमाउने शर्माले यसपटक पालि मुक्तकमात्र सुनाउनुभयो ।
‘देशको सिमानामा बार लगाउनुप¥यो सरकार
पिलर हराए काँडेतार लगाउनुप¥यो सरकार
बैरीले आमाको छाती कुल्चिदैँछ पटक–पटक
लौ न अब खुकुरीमा धार लगाउनुप¥यो सरकार ।’

उहाँले देशप्रेमयुक्त मुक्तक सुनाउँदा प्रेक्षालयबाट वाहीवाही आउँथ्यो । समाजका बेथिति, विसङ्गतिमाथि प्रहार गर्ने खुबी उहाँका मुक्तकले राख्छन् । प्रणय र शृङ्गाररसमासमेत उहाँको कलम चल्छ । गुनासो मुक्तकमा यसरी पोखिन्छ–
‘जो आफ्नो हुँदैनन् उनैमा जाँदोरहेछ मन
पित्तल कहाँ हेर्छ र, सुनैमा जाँदोरहेछ मन
लाखौँ ताराहरु छन् त्यो आकाशमा हेर त
मान्दैन रत्ति अहँ, जुनैमा जाँदोरहेछ मन ।’

छोटो र रसिलो काव्य विधा मुक्तकले साहित्यानुरागीको मन जित्यो । कार्यक्रममा सुरसाधना सङ्गीत विद्यालय बागलुङका कलाकारलेसमेत साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । नगरप्रमुख पौडेलले प्रस्तुत सिर्जनाले समाजको यथार्थ उजागर टिप्पणी गर्नुभयो ।
“भाषा, साहित्यको संरक्षण र प्रवद्र्धनमा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।
साहित्यकार काजी रोशन र दिल शिरीषले सर्जकहरुको मनोबल उच्च राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा राख्नुभयो । सर्जक र पाठकलाई जोड्न ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रम आयोजना गरिएको सङ्गमका अध्यक्ष सरु पौडेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी