मङ्सिर लागेसँगै बिद्यार्थी धानवारीमा, ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान

मङ्सिर लागेसँगै बिद्यार्थी धानवारीमा, ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

महोत्तरी, २४ मङ्सिर ।

सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् ।

जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका नानीहरु नै विद्यार्थी छन् । मङ्सिर शुरु भएसँगै घरका आमाबाबु बनि धान काट्न हिँड्ने भएपछि नानीहरु उनीहरुसँगै लोडहा खोज्न ९सिला खोज्न, धान काटिएका ठाउँमा काट्न छुटेका, बाँध्न छुटेका र मुसाले दुलोमा लगेका धानका बाला सङ्ग्रह गर्ने काम० जाने गरेपछि विद्यालय सुनसान भएका शिक्षकहरुको भनाइ छ ।

“हाम्रो विद्यालयका विद्यार्थी नै दलित समुदायका मुसहर, बाँतर, चमार, खत्वे, दुसाध र जनजाति समुदायका गरीब थारू समुदायका छन्”, भङ्गाहा नगरपालिका–४ स्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रघुवीर साहले भन्नुभयो, “मङ्सिर लागेसँगै सघन धान कटनी शुरु भएपछि ती समुदायका नानीहरु खेततिर व्यस्त भएपछि विद्यालयमा विद्यार्थी थोरै देखिएका हुन् ।” धान र गहुँ काट्ने बेलाका मङ्सिर र चैत महिनामा वर्षेनी यस्तै हुने गरेको प्रधानाध्यापक साहको भनाइ छ ।

नगरपालिका भनिए पनि बस्तीपिच्छे नै पराले झुप्रा देखिने भङ्गाहाका नौ वडा बस्तीमा अहिले सात माध्यमिक र २३ आधारभूतसहित ३० सामुदायिक विद्यालय छन् । सबैजसो विद्यालयका बिद्यार्थीमा दलित, गरीब र जनजाति समुदायका बढी छन् । मङ्सिर महिना वर्षभरि खाने अन्न कमाएर राख्ने समय भएकाले बाबुआमा बनि गर्न हिँडेसँगै नानीहरु त्यसै काममा सहयोगी बन्न जाँदा यो महिनाभरि विद्यालय सुनसानजस्तै बन्ने गरेका सबैजसो विद्यालयका शिक्षक बताउँछन् ।

जिल्लामा भङ्गाहा मात्र नभएर औरही नगरपालिकाको टिम्कियास्थित आधारभूत विद्यालय, लोहारपट्टी नगरपालिकाको पिपराढी तथा खुट्टास्थित विद्यालय र बलवा नगरपालिकाको भगवतीपुरस्थित विद्यालय पनि पढ्न आउने बिद्यार्थी घट्दा मङ्सिरभरि सुनसानजस्तै हुने गरेका छन् । त्यसैगरी मटिहानी नगरपालिका–९ सिमरदही, सम्सी गाउँपालिकाका विद्यालय र सोनमा गाउँपालिकाका सामुदायिक विद्यालय पनि अहिले सुनसान देखिएका छन् ।

आफ्ना नानीहरु पढाउनुपर्छ भन्ने चेत दलित समुदायमा बढ्दै गए पनि मङ्सिर महिना वर्षभरि खाने अन्न कमाएर राख्ने बेला भएकाले नानीहरुसमेत त्यस काममा लागेका दलित बस्तीका अभिभावक बताउँछन् । “हामीले अब नानीहरु पढ्न पठाउनु पर्छ भन्ने बुझेका छौँ”, भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा जुगलासादा मुसहर भन्नुहुन्छ, “तर मङ्सिर महिना धान काटेर राम्रो पारिश्रमिक पाइने महिना हो, यही बेला कमाएर राखेको धानले वर्षभरि गुजारा चलाउन पर्छ, त्यसैले यो महिनाभरिचाहिँ नानीहरु हाम्रो सहयोगमा हुने गरेका छन् ।”

खासगरी मुसहर र बाँतर जाति समुदायका बालबालिका मङ्सिर लागेसँगै धान काटिएको खेतमा लोडहा ९सिला खोजेर० सङ्ग्रह गरिएको धान बेचेर मनपर्ने कुरा किनेर खान रमाउने गर्छन् । धान लोड्दै जाँदा मुसाको दुलो भेट्टाइए त्यसलाई खनेर मुसाले जम्मा पारेको धान निकाल्दै मुसासमेत मार्न पाउँदा मुसहर बालबालिकाका लागि अत्यन्त खुशीको क्षण बन्ने गर्छ ।

सरसर्ती जिल्लामा रहेका सबैजसो सामुदायिक विद्यालय गरीब, दलित र पिछडिएका जनजाति समुदायका नानीहरु पढ्ने ठाउँ बनेका देखिन्छ । कृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका गरीब किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा यो महिनाभरि नियमित विद्यालय जान सक्दैनन् । यसरी महिना दिनभरि पढाइ पछि पर्दा दलित, विपन्न र जनजाति समुदायका नानीहरुको पढाइस्तर कमजोर बन्ने गरेको शिक्षक स्वीकार गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी