अरुले बनाइदिने हाेइन, हामीले नै विकसित नेपाल बनाउनुपर्छः प्रधानमन्त्री ओली

अरुले बनाइदिने हाेइन, हामीले नै विकसित नेपाल बनाउनुपर्छः प्रधानमन्त्री ओली

शिक्षामा देशको भविष्य उज्ज्वल छ

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काभ्रेपलाञ्चोक, ६ मङ्सिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गर्नुभयोे ।

प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भन्नुभयो, “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ ।” नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उहाँले स्पष्ट गर्नुभयो । “हामी केही कारणले आर्थिक रुपमा पछाडि प¥यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा आज दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गर्नुभयो । नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्तो आकर्षणले बालिकाहरु विद्यालयबाट ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ ।” उहाँले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गर्नुभयो ।

सो अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुई देशको मित्रतासँगै मेडिकल शिक्षामा पनि मित्रवत् रुपमा अघि बढिहेका छौँ, यो खुशीको विषय हो ।”

केयूका उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुलुकमा चुनौती र अवसर थुप्रै छन्, शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ ।”

कार्यक्रममा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् । दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी