फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

  • बिहिबार, कार्तिक १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

–हेमन्त केसी/जाजरकोट, १४ कात्तिक ।

जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु रु आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउनुहुन्छ ।

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डाँडामा पुग्नु बाध्यता भएको उहाँको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताउनुभयो ।

फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ ।

मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छाँटकाँट देखिएको छैन ।

विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन् । चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिनुभयो ।

मुड्केचुला गाउँपालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । जतिपटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी