कृषि पेशामा लागेका युवा भन्छन्, ‘सयपत्री आयात रोकौँ’

कृषि पेशामा लागेका युवा भन्छन्, ‘सयपत्री आयात रोकौँ’

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

– जमुनावर्षा शर्मा

सधैँ सामाजिक सञ्जालबाट सरकारलाई गाली गरिरहनुभन्दा देशभित्रै केही गरौँ न भन्ने सोचले प्रेरित दुई युवा यतिबेला तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा व्यस्त छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचेर उनीहरु रु ४० लाखको लागतमा ६० रोपनी जग्गा भाडामा लिएर फूल उत्पादनमा लागेका हुन् ।

पोखरा सिम्पानीका मानव कल्याण पराजुली र पस्याङका मदन पौडेलले संयुक्तरूपमा शुरु गरेको फिरफिरे अग्र्यानिक फार्ममा अहिले तिहारे फूल अर्थात् सयपत्री फूल ढकमक्क छ । रामपुर कृषि क्याम्पस तथा वन विज्ञान विश्वविद्यालयमा बिएस्सी सकेका युवा मदन पौडेल र बीबीए सकेर बसेका मानव कल्याण पराजुलीले सरकारलाई एकोहोरो गाली गरेरभन्दा आफैँबाट केही कामको शुरुआत गरे परिर्वतन सम्भव छ भन्ने सोचेर कृषि कर्ममा जुटेको बताउँछन् । पौडेलले यतिबेला एग्री बिजनेसमा एमबीएसमेत गर्दैछन् । किसानभन्दा बित्तिकै एकदम गरीबको आवरणबाट हेरिने दृष्टिकोणलाई चिर्दै कृषि पेशालाई सम्मानजनक पेशाको श्रेणीमा राख्न अब आफूहरुजस्ता पढेलेखेका युवाले आफ्नै देशको माटोमा पसिना बगाउनुपर्ने उनीहरुको तर्क छ ।

पराजुली र पौडेललेको यतिबेलाको व्यस्तता भने केही फरक छ । तिहारको मुखमा बढ्दो सयपत्री फूलको मागलाई व्यवस्थापन गर्न र आफ्नो लगानीलाई मुनाफामा परिणत गर्न बिहानदेखि बेलुकासम्म उनीहरु आफ्नै फार्ममा व्यस्त देखिन्छन् । प्रत्येक वर्ष तिहारमा चाहिने सयपत्री फूल भारतीय बजारबाट आयात गर्नुपर्ने बाध्यताले करोडौँ रकम बाहिर गइरहेको समाचार सुन्दै आएका उनीहरुले यसपालि फूल व्यवसाय गरेर बाहिरिने रकमलाई केही मात्रामा भए पनि देशभित्रै जोगाएका छन् ।

करीब रु पाँच लाखको लगानीमा १२ हजार फूलका बेर्ना सारेका उहाँले यसलाई रु १५ लाखसम्म आम्दानी गर्न सकिने अनुमान गर्नुभएको छ । तर फूल भण्डारण गरेर राख्न नसक्दा धेरै फूल ओइलाउने र बिग्रने गरेको फार्म सञ्चालक मानव कल्याण पराजुलीले बताउनुभयो । “आफ्नै माटोमा केमिकल नहालेको स्वच्छ फूलको माला बेच्ने हामी निकै उत्साहित छौँ, तर भण्डारण गर्न नसक्दा समस्या भएको छ ।” उहाँले भन्नुभयो, “माग बढिरहेकाले अहिले पोखराको सात ठाउँमा स्टल राखेर सयपत्री फूलको व्यापार गरिएका छौँ । अहिले छ हजार माला तयार छन् । फूलको थुङ्गा मालाको साइज हेरेर रु १०० देखि २०० सम्म मालाको बिक्री भइरहेको छ ।” त्यसैगरी एक किलोको रु ४०० देखि ५०० सम्म फूलको थोक तथा खुद्रा व्यापार भइरहेको उहाँ बताउनुहुन्छ ।

सरकारले प्रविधिमैत्री कृषि प्रणालीमार्फत कृषि पेशाप्रति युवालाई आकर्षित गर्न सके देश छिट्टै समृद्धिको बाटोमा जाने अर्का सञ्चालक मदन पौडेल बताउँछन् । हरेक रात विदेशको चिप्लो गाडी र अग्ला बिल्डिङको सपना देख्नेहरुबाट देश विकास सम्भव नहुने भन्दै अब आफ्नो पसिनाको मूल्य देशभित्र खोज्नुपर्ने उहाँको धारणा छ ।

फार्ममा अहिले सयपत्री फूल र मौसमअनुसारको तरकारी, माछापालन गरिएको छ । “हामीले तत्काल ठूला–ठूला कुरा गर्न नसके पनि कृषिमा सबै मिलेर बाँझो जमीनलाई हराभरा गराउने सके कृषिजन्य आयातित वस्तुलाई विस्थापन गर्न सक्छौँ”, पौडेलले भन्नुभयो, “अरु नसके पनि घर वरपर भए पनि सयपत्री फूल लगाएर विदेशिने करोडाँै रकमलाई जोगाऔँ र केमिकल नहालेको स्वच्छ सफा माला लगाआँै ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी