ओहो !
कति घातक छन्
यी सपना ब्यापारहरू !
न कुनै दर्ताको झन्झट छ
न कुनै राजस्व विभागको तामेली छ !
न त कुनै अवचलनको शंका
न त कुनै अख्तियार अनुषन्धानको फन्दा छ !
बढो गज्जवको छ
यो सपना ब्यापारको साम्राज्य पनि !
जो पुस्तौं–पुस्तादेखि,
यसै गरी फस्टाइरहेछ – यो मूर्दाहरूको देशमा !
………………..
श्रमको कथा सुनाएर
पसिनाको रङ चोर्छन् – यी ब्यापारीहरू !
खुसीको नदी देखाएर
आँसुको समुद्र बगाउँछन् – यी ब्यापारीहरू !
स्वाभिमानको फेरी फुकेर
गुलामीको शिरफूल लाउँछन् – यी ब्यापारीहरू !
र जीवनको गीत गाएर
मृत्युको क्याप्शुल बाँड्छन् – यी ब्यापारीहरू !
………………….
म त,
सपना देखाइएको मान्छे !
थाहा छैन मलाई
मेरो सपना देशको आयु कति छ ?
सपनाले डसेर
आफ्नो सर्वश्व गुमाएपछि
यतिखेर म,
एउटा निःसार लाग्दो समय बाँचिरहेछु !
……………………
भन्नुस् न महोदय !
सपनाको यो चिसो उपत्याकाभित्र
कहिलेदेखि बन्यो होला
बैकाल तालजस्तो दुःखको गहिरो तलाऊ ?
कसरी डुबे होलान्
जिन्दगी खियाइरहेका आनिकजस्ता माझिहरू ?
कहाँ अस्तायो होला
ढाक्रेको ढाकरबाट विचारको न्यानो घाम ?
र किन मेटियो होला
धुलेपाटीमा हामीले लेखेको यो देशको नाम ?
…………………….
दरवारको छायाँ मुन्तिर
हरेक दिन परेड खेल्ने मान्छेहरू
सिमाना रक्षक हुन् कि मालिकका दासहरू ?
तमासले बाँसुरी फुकेर
सपनाको विन्द्रावन धाउने निरोहरू
मथुरापुरीका गोठाला हुन् कि प्रभूका खेतलाहरू ?
र जीवनको लय मेटाएर
सत्ताको घोडचढी दौडिएकाहरू
पुग्ने अन्तिम गन्तब्य कुनै वैकुण्ठ हो कि आर्यघाट ?
……………………….
म त,
सपना देखाइएको मान्छे !
थाहा छैन मलाई
मक्किएको पुरानो डुङ्गाजस्तै यो देश
पसिनाको नदीमा तैरिएर
कहिले आइपुग्ने हो – मेरो बस्तिको मरुभूमिसम्म ?
…………………….
झरीले निथ्रुक्कै भिजेर
कति सपनाहरू
नुनको ढिक्काजस्तै विलाएर गए होलान् ?
विश्वासका अग्ला भिरबाट लडेर
कति सपनाहरू
अज्ञात सहिदजस्तै गुमनाम भए होलान् ?
भोकको खलाँतीले फुकेर
कति सपनाहरू
केरूहाङ साइँलोजस्तै बौलाए होलान् ?
र गोरखपुर एक्स्प्रेसमा चडेर
कति सपनाहरू
अँधेरी गल्लीको रात्री-यात्रामा हिँडे होलान् ?
………………………
म कसरी हेरौं, आमा !
घरभित्रै जलेका यी सपनाहरू
दसगजामा रेटिएका कलिला सपनाहरू
र खाडीका दूनमा चुँडिएका सहस्र सपनाहरू !
सायद,
सपना देख्ने यी करोडौं आँखाहरू
कुनै बहुराष्ट्रिय कम्पनीका मर्करी बल्बहरू हुन् !
जो बर्षौँ–बर्षदेखि,
उसै गरी उत्पादित भइरहेछन् – मुनाफाखोर बजारमा !
…………………………
म त,
सपना देखाइएको मान्छे !
थाहा छैन मलाई,
मैले अझै कति सपनाहरू जिउनुपर्छ ?
ऊफ, मेरी उलनिया !
यो सपनै–सपनाको मूर्दाघरबाट
कुनै एकदिन,
म अकस्मात् ब्यूँझिएर
सपना ब्यापारीको हत्या गरें भने
के तिमी भन्न सक्छ्यौ
त्यो कुनै सपना नै हुनेछ या कुनै वास्तविकता ?
– प्रथा