महाकवि देवकोटा सङ्ग्रहालय: कविकुञ्ज प्राप्तिमै एक वर्ष

महाकवि देवकोटा सङ्ग्रहालय: कविकुञ्ज प्राप्तिमै एक वर्ष

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

– प्रकाश सिलवाल/ काठमाडाैं, ८ कार्तिक ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुङ्गिएको छ ।

सङ्ग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसबीचमा देवकोटाको परिवारसँग उक्त जग्गा प्राप्तिका लागि विभिन्न चरणमा छलफल गरेर मुआब्जा रकम निर्धारण गरी निकासाका लागि नेपाल सरकारसँग ताकेता गरेको छ भने अन्य प्रक्रियागत झमेला मिलाएको छ । मुआब्जा वितरणपछि धोबीधारास्थित १२ आनामा निर्मित कविकुञ्जको हक प्रतिष्ठानको नाममा हस्तान्तरण हुनेछ ।

मुआब्जा वितरणपछि सङ्ग्रहालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बन्ने र बजेट तर्जुमाको प्रक्रिया शुरु हुनेछ । उक्त सम्पत्तिलाई देवकोटा परिवार र गुठी संस्थानको परामर्शमा रु पाँच करोड मूल्य निर्धारण गरी देवकोटा परिवारलाई रु दुई करोड ५० लाख दिने गरी समझदारी भएको प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । उक्त जग्गा गुठीको नाममा रहेकाले गुठी संस्थानले भने यसबारे अझै सबै टुङ्गो लगाइ नसकेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीसम्बन्धी कार्यक्रममा उक्त सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको देवकोटाको जन्मघर खरीद गरी ‘रेक्ट्रोफिटिङ’ गरेर देवकोटा कसरी पलेँटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउने गरी सङ्ग्रहालय बनाउने योजना सुनाउनुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले उक्त सङ्ग्रहालय निर्माणका लागि मुआब्जा र अन्य विषयबारेको प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद्मा पठाइने प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । उहाँले यसबारे थप जिम्मेवारी प्रज्ञा प्रतिष्ठानलाई दिइएको बताउनुभयो ।

उक्त कविकुञ्ज महाकवि देवकोटाका साइली छोरीको नाममा रहेकामा हाल देवकोटाका दुई छोराहरुको नाममा हस्तान्तरण गरिएको र सरकारबाट मुआब्जा रकम प्राप्त भएपछि रकम दिएर कविकुञ्ज प्रतिष्ठानको नाममा हस्तान्तरणको प्रक्रिया शुरु हुने कुलपति उप्रेतीले राससलाई बताउनुभयो । देवकोटाका दुवै छोराहरु हाल विदेशमा रहनुभएकाले देवकोटाका माइली छोरीसँग प्रतिष्ठानले समन्वय गरिरहेको छ । कुलपति उप्रेतीले प्रतिष्ठानका कमलादीस्थित परिसरमा अर्को सङ्ग्रहालय भवन विस्तृत परियोजना प्रस्ताव बनाइसकिएको पनि बताउनुभयो ।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले विद्यमान कानूनअनुसार निर्धारण गरिएको मूल्यको ६६ प्रतिशत मुआब्जा रकम आफूहरुलाई चाहिने दाबी गर्नुभयो । कूल मूल्यको ३३ प्रतिशत रकम भोगचलन गर्नेले पाउँछ । उहाँले यसबारेमा सरकारले निर्णय गरेपछि हक हस्तान्तरण सहज हुने बताउनुभयो । प्रज्ञा प्रतिष्ठानले भने देवकोटा विलक्षण प्रतिभावान व्यक्ति भएकाले उहाँको परिवारलाई कूल मूूल्यको ५० प्रतिशत रकम निकासा गराउन पहल गरेको छ । गुठी संस्थान, ऐन, २०३३ को दफा ४२ ९क० मा ‘गुठीमा रहेको जग्गमा बेचबिखन हुँदैन । सरकारले सामाजिक कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गराउन व्यवहारिकता हेरी सहुलितय मूल्यमा लिन सक्ने’ उल्लेख छ ।

महाकावि देवकोटाका ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’, ‘पुथ्वीराज चौहान’, ‘प्रमिथस’, ‘महाराणाप्रताप’, ‘वनकुसुम’ महाकाव्य, ‘मुनामदन’, ‘कुञ्जिनी’, राजकुमार प्रभाकर’लगायत खण्डकाव्य, लक्ष्मी कथा र निबन्ध सङ्ग्रहलगायत दर्जनौँ लोकप्रिय कृति छन् । नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाका परिकल्पनाकार समेत रहनुभएका महाकवि देवकोटा पूर्व शिक्षामन्त्रीसमेत हुनुहुन्थ्यो । उहाँको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन र निधन विसं २०१६ भदौ २९ गते भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी