काठमाडौं, भदौ ३० । डेंगाे नियन्त्रणका लागि धुवाँउने विषादी ‘फगिङ’ मानव स्वास्थ्यका लागि घातक रहेकाे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएकाे छ । परिषाद्ले उक्त विषादी प्रयोग नगर्न पनि सुझाव दिएको छ । परिषद्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै डेंगाे रोगबाहेक लामखुट्टेका प्रजातिको संख्या नरोक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ ।
डेंगाे नियन्त्रणका लागि जैविक विधि, प्रजनन् स्थान र क्षमतालाई प्रभावित पार्ने तथा खोज र नस्ट अभियान नै प्रभावकारी हुने परिषद्ले जनाएको छ । डेंगाे रोगबारेको चेतना र ज्ञानको अभिवृद्धि नै अहिलेको प्रमुख आवश्यकता भएको परिषद्ले औंल्याएको छ ।
१३ प्रतिशत मानिसलेमात्र डेंगाे रोकथामको उचित उपाय अपनाएको पाइएको छ । पहाडी जिल्लाका १६ र तराईका ५३ प्रतिशत मानिसमा डेंगाे रोगबारे जानकारी भएपनि रोकथामका उपायबारे पहाडी जिल्लाका मानिस बढी सचेत रहेको परिषद्ले जनाएको छ ।
कार्यक्रममा अनुसन्धान परिषद्का प्रमुख डा. अञ्जनीकुमार झाले डेंगाे रोग नियन्त्रण हुन नसके यसले महामारीको रुप लिने डर रहेको बताए ।अहिले नै भयावह हुनुपर्ने अवस्था नरहेको भन्दै डा. झाले आफ्नो घरको सरसफाइमा दिनको एक घन्टा समयमात्र दिए संक्रमण रोकथाम गर्न सकिने बताए । डेंगाेका कारण हालसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।