सोलुखुम्बु, ३२ साउन । लगातारको वर्षाले विमानस्थल पहिरोको जोखिममा परेको समाचार सार्वजनिक भएपछि सोलुखुम्बुको फाप्लु विमानस्थलको नेपाल नागरिक उड्डयन कार्यालयको टोली, निर्माण व्यवसायी र सोलुदूधकुण्ड नगरपालिकाका मेयरलगायतको टोलीले अनुगमन गरेको छ ।
पार्किङ तथा घेराबार निर्माणका क्रममा रहेको विमानस्थलको धावनमार्गभन्दा माथिल्लो र तल्लो भागमा रहेको ग्याविङ वालसहितको भित्ता र सडक भासिएको छ । निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलको भित्ता भासिएपछि नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको रोहबरमा नागरिक उड्डयन कार्यालय काठमाडौँको प्रविधिकसहितको टोलीले अनुगमन गरेको हो ।
निर्माणको गुणस्तरमा खासै समस्या नभए पनि लगातारको वर्षाका कारण केही समस्या आएको प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए । काष्ठमाण्डप/उमा एण्ड कम्पनी जेभी बल्खुले करिब तीन करोेड तीन लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा पाएको छ ।