पहाडको वकपत्र

पहाडको वकपत्र

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

कहाँ हराए होलान्
छनछनी चुरी बजाउने मेरा दुलही हातहरू ?
कसले काटिदियो होला 
धुलो कुल्चिएर हिँड्ने मेरा अक्टोपस खुट्टाहरू ?
र कसरी झरे होलान्
हवाईजहाजसँगै बेगिने मेरा नौरङ्गी प्वाँखहरू ?
म पनि जान चाहन्थेँ
सपनाको राजमार्ग हुँदै अरबको खाडीतिर
म पनि उड्न चाहन्थेँ
चराहरूझैँ ओथारो बस्न सात समुद्र पारिसम्म !
…………………

जब तिमीले छाडेर गयौ
तब पो थाहा पाएँ
म त पहाड भइसकेको रहेछु !
………………….

मेरो काखमा गुराँस फुल्न
कहाँबाट ओर्लन्छ— यो मायालु वसन्त ?
मलाई गिज्याउन यसरी
कताबाट आउँछन्— यी फिरन्ते बादलहरू ?
कसरी झर्दो हो
ह्रदय फुटेपछि— शिरबाट मनको पहिरो ?
किन छोडेर जान्छ होला
यो घामले हरेक दिन— एउटा अँध्यारो साँझ ?
र कहाँ पुग्छन् होला
मलाई कुल्चिएर जाने— यी नागबेली बाटाहरू ?
………………….

मैले बुझ्दै बुझेको छैन
किन चमचमाउँछन् — यी जूनकीरीहरू आकाशमा ?
मैले देख्दै देखेको छैन
कहाँ छ होला— दु:खीले नुहाउने गहिरो सागर ?
मैले भेट्दै भेटेको छैन
कहाँ छ होला— पीडा बिसाउने मरूभूमिको पठार ?
र मैले जान्दै जानेको छैन
कति लामो छ होला— यो प्रेम र घृणाबीचको दूरी ?
………………….

म त अनभिज्ञ छु
कुन देशमा पुगेर रोकिन्छ— मेरो आँसुको धारा ?
अहँ,थाहा छैन मलाई
उस्तै छ कि बदलिसक्यो होला— यो संसार पनि ?
………………….

म छैन हुँला
कुनै गायकले गाएको प्रेमिल गीतजस्तो !
म होइन पनि
कुनै कविले लेखेको स्वछन्द कविताजस्तो !
म देखिन्नँ पनि होला
कुनै चित्रकारले भित्तामा कोरेको चित्रजस्तो !
र मैले लुकाएको पनि छैन
आर्कियोलोजिस्टले भनेजस्तो सुनैसुनको भण्डार !
…………………

म त पहाड हु्ँ
वर्षौंदेखि यसै गरी बगिरहेछु— आँसुको नदी !
…………………

थाहा छैन मलाई
यो बेला मन दुखेको हो कि मस्तिष्क ?
तस्बिर खिच्ने क्यामेराले
किन मेरो अनुहारमात्र उतार्छ, हृदय उतार्दैन ?
बस् !
मैले त जोगाएर रुनु छ
म नै रोइनँ भने
फेरि कसले मेटाउँछ र— यो धर्तीको तिर्खा ?

**********
२०५७ माघ १५
प्रथा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी