सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुनः डुबानमा, २५ सय घर डुबानमा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुनः डुबानमा, २५ सय घर डुबानमा

  • बिहिबार, साउन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

राजविराज, साउन ९ ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुनः डुबानमा परेको छ । गाउँपालिकाका करिब ३५ प्रतिशत घर डुबानमा परेका छन् । मंगलबारदेखिको अविरल वर्षाका कारण खाँडो, महुली, जिता र कोसी नदीको बाढी गाउँमा पसेको छ । बाढीका कारण दुई हजार ५०० घरपरिवार डुबानमा परेको र २५ परिवार विस्थापित भएका छन् ।

खाँडोखोलाको बाँध वडा नम्बर–१ को तिलाठीमै तीन ठाउँमा भत्कँदा गाउँ जलमग्न भएको छ । तिलाठीका सबै घरमा पानी पसेको छ । कोइलाडी र बरसाइन गाउँमा पनि ४० प्रतिशत घर डुबेका छन् ।गएको असार २८ गतेको बाढीले खाँडोखोलाले दुई ठाउँमा कटान गरेको बाँध नेपाली सेनाले बनाए पनि पुनः कटानमा परेको गाउँपालिकाले जनाएको छ । यसैगरी, बेल्ही भन्सार कार्यालयको पुरानो भवन डुबेकाले नयाँ भवनमा सामान सारिएको छ ।

स्वास्थ्य केन्द्रमा पानी जमेकाले उपचार सेवा प्रभावित भएको छ ।खाँडोखोलाको बाढीले तिलाठीस्थित राजविराज–कुनौली सडकखन्डमा सवारी–साधन ठप्प भएको छ । अविरल वर्षापछि गएको असार २८ गते आएको बाढीमा पनि उक्त गाउँपालिका डुबानमा परेको थियो ।

यस्तै लगातारको वर्षा पछि रौतहटको गौर नगरपालिकाको सबगढा चोक स्थित लच्का फेरि डुबानमा परेको छ । पानीको बहाब बढे पछि लच्कामा अहिले आवतजावतमा समस्या भएको छ । साना सवारीहरु सदरमुकाम जान सकेको छैन् ।

त्यहाँ नेपाल प्रहरी शसस्त्र र नेपाली सेनाले डोरी लगाएर स्थानीयलाई वारपार गराईरहेका छन् । लच्कामा वर्षेनी डुबानले आवत जावतमा समस्या पार्दै आएको छ । पश्चिम भेगबाट छिरेको पानी लच्का हुँदै सदरमुकाम गौर पुग्छ । त्यसैले पनि डुबानको समस्या हुने गरेको हो ।

लच्कामा पानीको बहाब बढ्दै गएपछि यातायात संचालनमा कठिनाई हुन थालेको जिल्ला प्रहरी प्रमुख एसपि भूपेन्द्र खत्रीले बताउनुभयो । लगातारको वर्षा पछि केही भागहरु फेरि डुबानमा पर्न थालेको छ । अहिले पनि सदरमुकाम गौर लगायत दक्षिणी भेगमा वर्षा भईरहेको छ ।

गत असारको अन्तिम साताको वर्षा पछि लालबकैया र बागमती नदीमा आएको बाढीले जिल्लाको ८० प्रतिशत भू–भाग डुबानमा पारेको थियो । झण्डै २० हजार घर परिवार विस्थापित भएको थियो । उनीहरु अहिले पनि बाहिर र कोही आफन्तको आश्रय लिई बसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ