काठमाडौं, ४ असार । गुठी सम्बन्धी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।
विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता लिएको ठहर गर्दै प्रदर्शनकारीहरुले खारेजीको माग गरेका हुन् ।
गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकारका लागि खबरदारी गर्न आयोजित प्रदर्शन एवं खबरदारी सभामा ठूलो जनसहभागिता देखिएको छ । माइतीघरको खबरदारी सभामा काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु सहभागी भएका थिए ।
बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वतस्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा निस्कीएका छन् ।
नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका उनीहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै गर्नुपर्ने माग अघि सारेका छन्।


