च्याङ्बा दाइ

च्याङ्बा दाइ

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 29.6K
    SHARES

-अशोक कुँवर ‘नेत्र’

भर्खरै
बिसाएर गह्रौँ भारी
चौतारीमा सुस्ताएका छन् च्याङ्बा दाइ
एकैछिन
हिमाली बतास, पहाडी जीवन ।

इच्छा त थियो स्वर्गीय आभा
अफसोस जीवन सरल रेखामा कहिल्यै चलेन
बाङ्गोटिङ्गो बाङ्गोटिङ्गो
कत्ति रुखो भयो बैँस
उकालो ओरालो, उबडखाबड ।

साँच्चै सुख र दुःखमा कुन्नि कति, कस्तो भेद होला !
दस वर्षअघिकै कुरा त हो नि
छोरी पुतलीलाई रहर सँगालेर एउटा जामा किनिदिँदा
तोते बोलीमा भनेकी, “मेलो लाम्मो बाबा !”
भरिएर आएका थिए अधीर दुई दृग ।

दुःखको महसुस गर्नलाई
सुखको खास के अनुभव भयो र ?
प्यारी माहिलीलाई फाटेको चोली लाउनमा
जीवनइच्छा थोपरिएर लत्पतिएको हुँदो हो
भित्रिएको पहिलो दिन नै विवश आँसु पुछ्दै
भनेकी थिई, “गरिबको पनि त दिन आउँछ ।”

सम्झनाका एक एक पाना
थकाइ बिर्सने बहाना हुन सक्छ
च्याङ्बा दाइ ! मेरो देश चियाउने आँखीझ्याल !
कसले रङ्गाइदेला तिम्रो स्केच नगरिएको क्यानभास ?
कसरी आउला गरिबको त्यो दिन
पिठिउँमा बोकेर साहुको सामले भारी
बदलिन्छ जीवन भनेर
कसरी पो विश्वास गर्ने र तिम्रो रित्तो संसार देखेर ?

च्याङ्बा दाइ ! भनिदिऊँ,
म हुटिट्याउँ होइन आकाश थाम्न
यो देश मैले थामेको पनि होओइन
मैले बुझ्न सकेको पनि होओइन
ठुलाका कुरा,
भोट पाउनेका कुरा,
सरकार चलाउनेका कुरा
उः पर आसनबाट शासन गर्नेका कुरा ।

लागेको पनि हो भए जस्तो
“हामी जस्ताको आफ्ना नेता भएनन्
पार्टी भएन,
पहुँच भएन
कार्यकर्ता भएनौँ,
जित भएन
सरकार भएन,
समय भएन
भएको यत्ति हो थाप्लो र नाम्लो ।”
र त यति बेला
च्याङ्बा दाइले आफूलाई
बिल्कुल त्यही भकुन्डो ठानेका छन्
जसलाई
फरक फरक खेलाडीले मैदानमा उत्रँदा खेलाए
खेलाडीको जितका निम्ति अभिशप्त रहनुपर्यो
रङ्गशालामा खप्नुपर्यो
च्याङ्बा दाइले तिनको हरेक प्रहार ।

च्याङ्बा दाइ ! तिम्रो संसारको रङ्गीन चित्र कोर्न
फुर्सद कसलाई पो भयो र यहाँ ?
प्रदर्शनमा राखेर तिम्रो विवश आँसु
आँसुकै आडमा साकार पार्ने मात्र हुन् तिनले
तिनका दीर्घ सपना
सपना जसमा क्रान्ति, विद्रोह, सङ्घर्ष र प्राप्ति बहुलाएको होस्
सपना जसमा तिनको भविष्यको इदिअमिन लुकेको होस्
सपना जसमा तिनको मुसोलिनो झैँ क्रूरता सल्बलाएको होस्
सपना जसमा तिनको लुइँ चौधौँ खित्का छाड्दै हाँसेको होस् ।

धेरैअघि नै हो रेड्वामा सुनेको गीत
“बन्दुक बोकी आयो आयो हाम्रो लालसेना
दुस्मनको किल्ला तोड्ने हाम्रो लालसेना ।”

गीतले च्याङ्बा दाइको रौँ ठाडो बनाएको पनि हो
बन्दुक बोकेर वन पसेको पनि हो
लागेको पनि हो आशा
अब इतिहास फेरिन्छ
च्याङ्बा दाइको जीवन बदलिन्छ ।

त्यस यता
च्याङ्बा दाइको जीवनमा धेरै उथलपुथल आयो
दाहिने आँखा जनयुद्धले लग्यो
लग्यो छोरीलाई मुटुको छिद्राले
प्यारी माहिलीलाई सुत्केरी व्यथाले लग्यो
लग्यो सुखदुःखको भेद गरिबीको चिथोर्याइले
बिडम्बना
मेरो इतिहास हेर्ने ऐना,
बाँच्दै छन् बोकेर अनगिन्ती वेदना
उस्तै खाली खाली क्यानभास
चौतारीमा सुस्ताएका छन् एकैछिन
हिमाली बतास, पहाडी जीवन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी