काठमाडौं, १४ जेठ ।
ने.क.पा.नेताद्वय चुडामणि वली ‘आदर्श’ र लालबहादुर वली ‘विश्व’लाई थुनामा राख्नुको आधार र कारण भोलि १५ गते अदालतमा पेश गर्न गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, दाङको जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयसमेत नाममा सर्वोच्च अदालतले आदेश दिएको छ ।
५२ वर्षीय चुडामणि र ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको माग सहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । विचार र सिद्धान्तको हिसाबले फरक धारमा रहेर राजनीतिक गतिविधि गरैकै आधारमा थुनामा राखिनु न्यायसंगत नभएकोले आफूले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेको निवेदक विनोदले बताउँछन् ।
रिट निवेदनमाथि सोमबार भएको बहसपछि न्यायाधिश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले बन्दीद्वयलाई थुनामा राख्नु पर्नाको आधार र कारण खुलाई भोलि मंगलबार सर्वोच्चमा मिसिलसहित जवाफ पेश गर्न आदेश दिएको हो । साथै यसअघि सँगै पक्राउ परी बन्दीप्रत्यक्षीकरण रिट जारी भई हालै रिहा भएका ने.क.पा.कै केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’को हकमा तयार पारिएको मिसिल पनि संलग्न राखी अवलोकानार्थ पेश गर्न पनि आदेशमा भनिएको छ ।
साविकको ठेगाना जिनवाङ गाविस भई हाल गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा आदर्श र विश्व दाजुभाई हुन् । दाजु ने.क.पा.का केन्द्रीय सदस्य हुन् भने भाई लालबहादुर भेरी ब्यूरो ईन्चार्ज हुन् । दुवै जनालाई नेता असलसहित गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको छ ।
सोही अभियोगका अभियुक्त असललाई भने राज्यले लगाएको अभियोग र कसुरसम्बन्धी माग दाबीमा आधार र प्रमाण नदेखिएको भन्दै रिहा गर्न आदेश भएको थियो । तर दाङको घोराही प्रहरी हिरासतमा राखिएका असललाई रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी अर्को मुद्दामा सुनसरी पुर्याई पूर्ववत् अभियोगमा हिरासतमा राखिएको छ । असल यसअघि भदौ ५ गते नौविसे धादिङबाट बम विष्फोट गरेको कसुरमा गिरफ्तार भई कार्तिकको अन्तिमतिर मात्र सर्वोच्चको आदेशमा रिहा भएका थिए ।