सडक र बालुवाटार

सडक र बालुवाटार

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

-अनिल शर्मा ‘विरही’

यस बेला सडक
ज्वालामुखी भएको छ
बस्तीहरू/गल्लीहरू/सडकहरू
एकातिर उम्लिरहेका छन्
अर्कोतिर
लगलगी कामिरहेको बालुवाटार छ
बालुवाटारलाई हरेक रात ऐँठन हुन्छ
र सडकको भीड देखर तर्सिन्छ
हरेक साँझ बालुवाटार
कुखुराचोर स्यालझैँ
लैनचौरको परिक्रमा गर्छ
र बन्दुकको घेराभित्र पसेर
रत्नपार्कको जुगलाझैँ गर्जन्छ ।
आजभोलि बालुवाटार
रातो रङको ‘फोबिया’ ले ग्रसित छ
रातो सूर्य/रातो गुराँस/रातो रगत
राताम्मे छ जगत्
तर बालुवाटार
रातो आँधीबाट भयभीत छ ।
बालुवाटार
पुराना चमेराको थोत्रो कोट भिरेर
‘समृद्ध देश, सुखी जनता’ नारा उराल्छ
म नारा सुनिरहन्छु
बालुवाटार कर माग्छ/कुखुरा चोर्छ
र डाँकाहरूको दैलोदैलो पुगेर
हरेक दिन कमण्डलु थाप्छ
भिखारी/चोरी/डकैती
रूप बदलिरहन्छ
हुँडारझैँ दौडिरहन्छ–
लैनचौर/सिङ्गापुर/न्युयोर्क
र बालुवाटार
वैदेशिक रोजगार
अर्थात् नयाँ दासको खेती गर्छ
भाडाको सिपाही उमारिरहन्छ
उनीहरूको रगत पिउँछ
र काठमाडौँको रात्री क्लबमा
‘होली वाइन’ पिएर मात्तिन्छ ।
हिजो बालुवाटार
नमिता–सुनीताको सिकार गथ्र्यो
लोकतान्त्रिक बालुवाटार
निर्मलाको सिकार गर्छ
र बर्बराउँछ– शान्ति, समृद्धि र विकास ।
यो हाप्सिलो रोएको हो कि ?
किचकन्या वाणी हो ??
भ्रमित भएको छ सडक ।
काठमाडौँको मझेरीमा
गल्ला पसल अर्थात् सिंहदरबार छ
जहाँ सिकारीहरू
सेयर बजार चलाउँछन्
र सडक हेरेर भन्छन्–
अर्को सैतान/अर्को माओवादी/अर्को महाप्रलय
बालुवाटार र सिंहदरबारलाई
रातो फोयिबा भएको छ
सडक झन्झन् राताम्मे भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी