जनकपुर, १५ चैत । प्रदेश नम्बर २ मा एसईई परीक्षामा लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भएकाे छ ।परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित बनेका छन् । सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आज पनि परीक्षा रद्द गरिएसँगै विद्यार्थीले सडकमै उत्रिएर विरोध प्रदर्शन गरेपछि प्रदेश नम्बर २ का अधिकांश शहरी क्षेत्र तनावग्रस्त बनेको छ ।
विद्यार्थीहरुले पर्सा, बारा, धनुषा, महोत्तरी, रौतहटलगायत जिल्लामा ठाउँ–ठाउँमा आगजनी र ढुंगामुढा गरेका छन् । जनकपुरमा परीक्षा रद्द भएलगत्तै विद्यार्थी आक्रोशित बने । परीक्षा रद्द भएको सूचनालगत्तै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरमा प्रदेश सरकारको कार्यालय अगाडि विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
वीरगञ्जमा पनि परीक्षा रद्द भएको आक्रोशमा विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट, ट्राफिक लाइट र डिभाइडरमा आगजनी गरेका छन् । विद्यार्थीहरु तोडफोड र आगजनीमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका हुन् ।
त्यसैगरी परीक्षा रद्दको विरोधमा रौतहटको चन्द्रनिगाापुर बजारमा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरेका छन् ।
उता, लगातार प्रश्नपत्र ‘आउट’ भएपछि त्यसकाे दाेष प्रदेश सरकारले संघमाथि लगाएको छ । प्रदेश सरकारका मूख्यमन्त्री र कानुनमन्त्रीले यसमा केन्द्र सरकारका अधिकारीहरु दोषी रहेको आरोप लगाएका हुन् ।प्रदेश सरकारका मूख्यमन्त्री लालबाबु राउतदेखि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रश्नपत्र ‘आउट’ गराएर प्रदेश सरकारलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन् ।
लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको आरोप मूख्यमन्त्री राउत र कानुनमन्त्री यादवले लगाएका हुन् ।बिहीवार र शुक्रवार क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउत र कानुनमन्त्री यादवले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।
परीक्षा प्रदेश सरकारले नभई केन्द्र सरकारका निकायले नै गराएकाले दोष पनि केन्द्र सरकारले नै लिनुपर्ने उनीहरुको भनाइ छ । घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग माग गरेको छ । प्रदेश २ लाई बदनाम गराउन र संघीयतालाई नरुचाउनेहरुबाट यो षडयन्त्र भएको दुबैको जिकीर छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले त प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको जिकीर सकेत गरेका छन् । संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने माग उनले गरेका छन् ।
आज पनि एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् । सामाजिक सञ्जालमा प्रश्नपत्र ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएको हो ।
त्यसपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । कार्यालयका उप–नियन्त्रक चेतनाथ शर्माले प्रश्नपत्र आउट भएको पुष्टिपछि प्रदेश नं २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिनुभएको थियो । परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो ।