फागुन १७, काठमाडौं ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४२ औं सिनेट बैठक बसिरहेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बिहान ८ बजेबाट सुरु भएको बैठकले भ्रष्टाचारको आरोप लागेका प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई हटाउने तयारी गरेको छ ।
स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा जारी सिनेटले प्रतिष्ठानमा भएका भ्रष्टाचार र अनियमितताका सन्दर्भमा छानविन समितिले दिएको प्रतिवेदन उपर छलफल गरी निर्णय गर्ने छ ।
डा. रौनियारले प्रतिष्ठानमा विभिन्न उपकरण खरिद र कर्मचारी अनि विद्यार्थी भर्ना गर्ने क्रममा भ्रष्टाचार गरेको तथा भवन निर्माणमा करोडौं भ्रष्टाचार गरेको र रजिष्ट्रारको सबै पदीय अधिकारमाथि हस्तक्षेप गरी आर्थिक लाभ लिएको विभिन्न समयमा गठित छानबिन समितिको प्रतिवेदनबाट समेत प्रमाणित भएपछि उनलाई हटाउने तयारी स्वरुप नै सिनेट बैठक बोलाईएको हो ।
यसअघि प्रतिष्ठानको ४१औं सिनेटको बैठकमा उपकुलपति रौनियारको भ्रष्टाचार सम्बन्धमा व्यापक कुरा उठेपछि सिनेटले नै प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा गठन गरेको छानविन समितिले उपकुलपतिप्राडा रौनियारले उपकरण खरिद र भवन निर्माणमा अनियमितता गरेको प्रतिवेदन पेश गरेको थियो ।
रौनियारको भ्रष्ट चरित्रको पर्दाफासपछि उनलाई कारवाही गरेर तत्काल बर्खास्त गर्न प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समितिले सुझाव समेत दिएको थियो । छानबिन प्रतिवेदन सार्वजनिक भएपछि उनलाई हटाउन सरकारमाथि ठूलो दबाब परेको छ ।
दबाबपछि प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री यादव रौनियारलाई हटाउने कुरामा सहमत भएको स्रोत बताउछ ।
सोहीअनुरुप प्रधानमन्त्री ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको दफा ११ (घ) बमोजिम प्रधानमन्त्री स्वास्थ्यमन्त्रीयादवको संयोजकत्वमा२०७५ असोज ५ गते ३ सदस्यीय छानविन समिति गठन गरेका थिए । उक्त दफा भनेको उपकुलपतिलाई पदमुक्त गर्ने दफा हो ।
पटक पटक सिनेट बैठक बोलाउन अटेर गरेका डा रौनियारले शक्ति र आर्थिक चलखेलको आधारमा पद जोगाउँदै आएका थिए ।
बिहिवारबाट सुरु सिनेटले पहिलो दिन बुधवार ताप्लेजुङको पाथीभरामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।