२९ माघ, नुवाकोट । त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको समाचार संकलन गर्न गएकी नुवाकोटकि पत्रकार रुपा अर्यालमाथि दूर्व्यवहार भएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धवबहादुर थापाले समाचार संकलनमा गएकी पत्रकार अर्याललाई दूर्व्यवहार गरेका हुन । मंगलबार उनले समाचार संकलनमा गएकी नेपाल पत्रकार महासंघकी उपाध्यक्ष समेत रहेकी पत्रकार अर्यालमाथि दूर्व्यवहार गरेको जनाइएको छ ।
अर्याल मिक्स एफ. एम. नुवाकोटका स्टेसन म्यानेजर पनि हुन । त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको प्रशारण लाईन विस्तारको क्रममा प्रभावित भएका लिखु गाँउपालिकाका नागरिकहरुको समाचार संकलनका क्रममा सिडअो थापाले दूर्व्यवहार गरेको र प्रहरी लगाएर बाहिर निकालेको अर्यालले बताएकी छिन ।
अर्याल माथि भएको दूर्व्यवहारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ नुवाकोटले विज्ञप्ति प्रकाशित गरेर आपत्ती जनाएको छ। महासंघका सचिव जगदिश खनाललले विज्ञप्ति मार्फत घटनाको निन्दा गर्दै सिडिओ थापालाइ अाफ्नो व्यवहारमा सुधार ल्याउन चेतावनी समेत दिएका छन ।
‘सुरक्षाको दायित्व बहन गर्नुपर्ने जिम्मेवार कर्मचारीबाटै सिर्जना भएको यस्तो निन्दनिय र उदेक लाग्दो घटनाको छानबिन गरी प्रेश स्वतन्त्रता बिरोधी प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई यस घटनाको सन्दर्भमा सार्वजनिक रुपमा आलोचना गरी सुध्रिन आग्रह गरिन्छ ।’ महासंघको विज्ञप्तिमा भनिएको छ ।