शैलुङ पुँडीका किसानमा सुन्तलाले ल्यायो खुसी, उत्कृष्ट दानामा गनिने दाबी

शैलुङ पुँडीका किसानमा सुन्तलाले ल्यायो खुसी, उत्कृष्ट दानामा गनिने दाबी

  • बुधबार, पुस २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

काठमाडौं, २५ पुस ।

रामेछापको शैलुङ पर्यटकीय क्षेत्रको रुपमा परिचित पुँडीमा यसवर्ष सुन्तला खेती फस्टाएको छ । मौसमले साथ दिएपछि दाना पनि राम्रै फलेको किसानहरुले बताएका छन् ।

गत वर्षभन्दा यो वर्ष उत्पादन मात्रा र असल दाना फलेको यहाँका किसानहरु बताउँछन् । हाल दोरम्बा गाउँपालिका–७ मा पर्ने पुँडी जिल्लाकै उत्कृष्ट फल दिने र लामो समयसम्म बोट टिक्ने क्षेत्रको रुपमा परिचित छ ।

यसै हप्ताबाट मात्र यस क्षेत्रका सुन्तला देशका विभिन्न बजारमा पुर्याइन थालिएको छ । यहाँको मुख्य बजार काठमाडौंको कालिमाटी र कुलेश्वर फलफूल बजार हो । तनहुँ, स्याङजा, गोरखा, गुल्मी, कास्की, पाल्पा, काभ्रे, सिन्धुलीका सुन्तला टिपेर सकिँदै जाँदा बल्ल पुँडीको सुन्तला बजारमा आउन शुरु हुन्छ । माइनस १ डिग्रीसम्म तापक्रम झर्ने यस क्षेत्र काभ्रेको कोशीपारीबाट शैलुङ जाने बाटोमा पर्दछ । सानो शैलुङ महादेवको नाममले चिनने पुँडीदेखि करिब ४ किलोमिटर माथि जंगलबीचमा महादेव मन्दिर छ । जहाँ हरेक पौष पूर्णिमामा मेला लाग्छ । मेलामा चितवन, मकवानपुर, बारा, सिन्धुली, काभ्रे। सिन्धु्पाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङदेखिका आन्तरिक पर्यटक र श्रद्धालुहरुको भीड लाग्छन् ।

दशक पहिले यहाँको सुन्तलाको मुख्य बजार काभ्रेको दोलालघाट थियो । यातायात विस्तार भएसँगै अहिले मुख्य बजारको रुपमा काठमाडौं उपत्यका बनेको हो । शैलुङ पुँडीको सुन्तला उपत्यकामा चर्को माग बढेको स्थानीय युवा अगुवा लालध्वजले जानकारी दिए ।

हरेक पौष पूर्णिमामा तीन दिनसम्म लाग्ने शैलुङ मेलामा जानेहरु पर्यटक तथा भक्तजनले किसानका घरबारीबाटै सुन्तला किनेर ल्याउन सकिने व्यवस्था गरिएको छ । किसानकै घरआँगनबाट सुन्तला किन्न पाउँदा भक्तजनहरु खुसी र दंग छन् । यहाँ पुगेर किन्ने ग्राहकले सुन्तलालाई प्रतिकिलो ८० रुपैयाँ भन्दा बढी तिर्नै पर्दैन ।

‘बजार भाऊ चाहिं के कस्तो मिल्छ ? तर यस वर्ष सुन्तला राम्रै फलेको छ’ पुँडीका किसान नरबहादुर तामाङ भन्छन् । सुन्तला दाना पनि राम्रो भएको र धेरै मात्रामा फलेको उनले बताए । गत वर्ष चाहिं राम्रोसँग नफलेको उनको अनुभव छ । उनी आज पनि सुन्तला टिप्ने र भर्ने काममै व्यस्त रहेको मिर्मिरे अनलाइनलाई बताए । यही माघ ७ गते स्थानीय पुँडीघ्याङमा ठूलो पौष पूर्णिमा मेला लाग्दैछ । मेलामा बिक्रीका लागि सुन्तलाको प्रबन्ध भरपुर मात्रामा गरिएको किसानहरु बताउँछन् ।

दुई वर्षअघि एकै घरले ५ लाख रुपैयाँसम्म सुन्तलाको आम्दानी गरेको र यसवर्ष त्योभन्दा बढी हुने उनले बताए । त्यो वर्ष स्थानीय बुद्धिमान तामाङले सुन्तलाबाट सबैभन्दा बढी पाँच लाख ६ हजार रुपैयाँ नगद आम्दानी प्राप्त गरेका थिए । यो क्षेत्र साविकको लखनपुर गाविसको वडा नम्बर ९ मा पथ्र्यो । दोरम्बाको वडा नम्बर ४ र ७ सुन्तला उत्पादनको लागि उत्कृष्ट क्षेत्र मानिन्छ । तैपनि राज्यको नजरमा पर्न सकेको छैन । यस क्षेत्रलाई पकेट क्षेत्र घोषणा गर्ने माग किसानहरुले गरेको धेरै भइसकेको र सरकारले बेवास्ता गरेको भन्दै स्थानीय लालध्वज लामाले गुनासो गरे । पकेट क्षेत्र घोषणा गरेर सुन्तला उत्पादनलाई व्यवसायिक बनाउन सरकारको ध्यानाकर्षण मिडियामार्फत गराउने चाहेको उनले बताए ।

यतिखेर पुँडी र साविकको गौश्वरा गाविस–१ टेक्सिङ क्षेत्रमा सुन्तला टिप्ने र बजारीकरण गर्ने कामले किसानलाई फुर्सद छैन । दाेरम्बा गापाकाे वडा न‌. ७ को काफलडाँडा, खापु, थापागाउँ, डोप्ला, डाँडागाउँलगायत क्षेत्रमा पनि सुन्तला टिप्नेको लहरै चलेको छ । भर्रयांगकाे सहयताले सुन्तला टिप्ने गरिएकाे छ । टेक्सिङमा पनि यो वर्ष सुन्तला उत्पादन राम्रो भएको किसान पेमसिं तामाङले बताए । तर बाँदरले खाने र झार्ने समस्याबाट किसान हैरान बनेको उनले बताए ।

युवा पंक्ति रोजगारका युवक, युवती लागि विदेशिएका कारण सुन्तला टिप्ने जनशक्तिको अभाव परेको छ । टिप्न र ग्रेडिङ गर्न तराईमूलका केही मजदुर त्यहाँ लगिएका छन् ।

जुनार, कागती खेतीको लागि पनि यस क्षेत्र राम्रो मानिन्छ । तर हानिकारक किराबाट लाग्ने रोगका कारण जुनार खेतीबाट किसानले करिब हात झिकिसकेका छन् । बालीराेगकाे उपचार समयमा गराउन सरकारसँग माग गरेका छन् कृषकहरुले । रोगका कारण यो वर्षबाट सुन्तलामा पनि छिटफुट देखिन थालेपछि यहाँका किसानहरु चिन्तित् छन् । यससँगै किसानकाे खुसी राेगले खाेस्ने हुन् कि भन्ने खतरा बढ्दै गएको छ । यस क्षेत्रका केही युवा किसान अलैँची खेतीमा समेत लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी